म्याग्दीमा ८० प्रतिशत धान रोपाइँ

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । साउन महिनाको दोस्रो साता सम्म म्याग्दीमा करिब ८० प्रतिशत रोपाइँ सकिएको छ । गत वर्षको तुलनामा यो वर्ष रोपाइँ गर्ने समयमा पानी नपर्नु ,देशभर महामारीको रुपमा फैलिरहेको लम्पी स्किन रोग र सिँचाइ सुविधाको अभाव जस्ता कारणले धान रोपाइँमा ढिलाइ भएको छ । अघिल्लो वर्ष साउनको दोस्रो साता सम्म करिब ९० प्रतिश रोपाइँ सकिएको थियो । म्याग्दीमा कुल ३० हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा त्यसमध्ये जम्मा १९ हजार चार सय ९८ हेक्टर जमिनमा खेती हुँदै आइरहेको छ ।

कृषि ज्ञान केन्द्रका वाली संरक्षण अधिकृत सञ्जीव वास्तोलाका अनुसार मंगला गाउँपालिकामा ९० प्रतिशत ,बेनी नगरपालिकामा ७० प्रतिशत ,अन्नपुर्ण गाउँपालिकामा ९५ प्रतिशत ,रघुगङ्गा गाउँपालिकामा ८५ प्रतिशत ,धवलागिरी गाउँपालिकामा ९५ प्रतिशत र मालिका गाउँपालिकामा ९० प्रतिशत धान रोपाइँ भएको छ । त्यसमध्ये जिल्लामा तीन हजार आठ सय ८५ हेक्टर जमिनमा धान खेती हुँदै आएकोमा गएको वर्ष १३ हजार तीन सय ६० मेट्रिक टन धान उत्पादन भएको थियो । ढिला गरी मनसुन सक्रिय हुनु ,नियमित नियमित पानी नपर्दा,सिचाइँको अभाव र लम्पी स्किन रोगले गर्दा यस वर्ष धान रोपाइँमा ढिलाइ भएको रघुगंगा गाउँपालिका–२,भगवतीका किसान प्रकाश शर्माले गुनासो गर्नुभयो ।

खेती गरिएको जमिनमध्ये ६ हजार १३ हेक्टर अर्थात् ३० दशमलव ८ प्रतिशत मात्रै सिञ्चित जमिन रहेकोमा १६ सय ८० हेक्टरमा बाह्रै महिना सिँचाइ हुन्छ भने चार हजार तीन सय ३३ हेक्टर जमिनमा मौसमी सिँचाइ हुने गरेको छ । म्याग्दीमा गौरिया, जेठोबुढो, छोम्रोङ, खुमल, गुडुरा, दर्माली,, आङा, झिनुवा, रातो मार्सी , ताकमारे, माछापुच्छ्रे–३, लुम्ले–२ जस्ता लोकल जातका स्थानीय धान रोप्ने गरिएको छ । विकासे धान खेतीतर्फ भने किसानले चासो देखाएका छैनन् ।

पाखो बारीमा घैया धान रोप्ने चलन पनि छ । म्याग्दीको रत्नेचौर, ज्यामरुककोट, अर्थुङ्गे, पुलाचौर, सिङ्गा, बराङ्जा, बाबियाचौर, कुहुँ, अर्मन, दरबाङ, ताकम, घतान, पात्लेखेत, राखुपिप्ले, भगवती, शिख, घार, भूरुङ–तातोपानी, नारच्याङ, दाना लगायतका क्षेत्रमा धानखेती हुँदै आएको छ । यी क्षेत्र धानखेतीका लागि पकेट क्षेत्र मानिन्छन् । हिमाली तथा विकट क्षेत्र गूर्जा र लुलाङमा अत्यधिक चिसोका कारण धान खेती हुँदैन ।

कृषिमा आधुनिकीकरण, यान्त्रीकीकरण र व्यवसायीकरण गर्न नसक्दा पर्याप्त मात्रामा धान खेती हुन सकिरहेको छैन । धानलाई मुख्यबाली मानिएको भए पनि परम्परागत खेती प्रणाली, आकाशे पानीको भर पर्नुपर्ने बाध्यता, गह्रा सुधार हुन नसक्नु र भिरालो जमिनका कारण आवश्यक उत्पादन हुन नसकेको कृषि प्राविधिकहरू बताउँछन् । म्याग्दीको खाद्यान्नतर्फ धान, मकै, गहुँ लगायतका बाली रहेका छन् । युवापुस्ता रोजगारी, अवसर र सेवा सुविधाको खोजीमा देश, विदेश तथा सहर पसेका कारण यति बेला गाउँमा काम गर्ने जनशक्तिको अभाव देखिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार