वर्षाले बेनी-जोमसोम र बेनी-दरबाङ सडक अवरुद्ध

  म्याग्दी न्युज संवाददाता

बेनी । वर्षाले ठाउँठाउँमा खसेकाे पहिराेले   म्याग्दी जिल्लाका प्रमुख सडक अवरुद्ध भएका छन् । सोमबार रातीदेखिको अविरल बर्षातका कारण सदरमुकाम बेनी देखि छिमेकी जिल्ला मुस्ताङ र म्याग्दीका ग्रामिण क्षेत्र जोड्ने सडकमा यातायात प्रभावित भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख राजेन्द्र पौडेलले रघुगंगा गाउँपालिका–२, बैसरी र अन्नपूर्ण गाउँपालिका–२, नौनीबगरको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध बनेको बताउनुभयो । बेनी–जोमसोम र बेनी—दरवाङ म्याग्दीका प्रमुख सडक हुन् ।

बैसरीमा आइतबारदेखि बन्द भएको म्याग्दीको रघुगंगा, अन्नपूर्ण गाउँपालिका हुदै मुस्ताङ जिल्ला जोड्ने बेनी–जोमसोम सडक मंगलबार साँझ सम्म पनि खुलेको छैन् । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाईजर इन्द्रसिंह शेरचनले निरन्तरको झरिसँगै पहिरो खस्न नरोकिएकाले सवारी आवत जावत खुलाउन नसकिएको बताउनुभयो ।

बेनी–जोमसोम सडक अवरुद्ध हुदाँ स्थानीयबासीका साथै मुस्ताङ जाने आउने तिर्थयात्री, पर्यटक र स्थानीयबासी मर्कामा परेका छन् । ढुवानी र निकासी ठप्प भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले पहिरोको जोखिमयुक्त क्षेत्र मानिएको बेनी–जोमसोम सडकको राहुघाट–तातोपानी खण्डमा रातको समयमा यात्रा नगर्न अनुरोध गर्दै सार्वजनिक सूचना जारी गरेको छ ।

बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा पर्ने फापरखेतको पहिरोका कारण धवलागिरी, मालिका र मंगला गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पनि मंगलबार बिहानदेखि बन्द छ ।सोमबार राती खसेको पहिरो बिहान पन्छाएर सवारी आवत जावत खुलाएपछि दिउँसो पुन पहिरो खसेर अवरुद्ध बनेको बेनी नगरपालिका–४ का वडा सदस्य प्रेम श्रीसले बताउनुभयो । काम विशेषले गन्तब्यमा पुग्नुपर्ने यात्रुहरु पैदलयात्रा गर्न बाध्य भएका छन् । पानी पर्न रोकिनेवित्तिकै फापरखेतको पहिरो पन्छाउन पूर्वाधार विकास कार्यालय म्याग्दीले डोजर तयारी अवस्थामा राखेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार