मन्त्री जुग्जालीद्वारा १०० दिनको प्रगति विवरण सार्वजनिक

  म्याग्दी न्युज संवाददाता

पोखरा । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले रुग्न आयोजनाको संख्या घटाएको छ । गत वैशाख २९ गते पदभार सम्हालेका मन्त्री रेशमबहादुर जुुग्जालीले सोमबार एक सय दिनका कार्यप्रगति विवरण सार्वजनिक गर्दै निर्माण व्यवसायीहरुलाई काममा फर्काएर रुग्न आयोजनाको संख्या घटाएको जानकारी दिनुभयो । “मैले पदभार सम्हाल्दा यस मन्त्रालय अन्तरगतका ४७ वटा आयोजनाको काम रोकिएको थियो,” उहाँले भन्नुुभयो “३० वटा आयोजनाका निर्माण व्यवसायी काममा फर्किसकेका छन् । १७ वटा आयोजनाका निर्माण व्यवसायीलाई काममा फर्काउन केन्द्रित भएका छौ ।” चालुु आर्थिक वर्ष २०८०÷८१ मा ३० लाख भन्दा कम बजेटका योजना नबनाएको मन्त्रालयले टुुक्रे योजनाको कटौति गरेको छ । गत वर्ष एक हजार ८०० योजना रहेकोमा चालु वर्षमा एक हजार एक सय वटा कायम भएका छन् ।

“विगतमा ठेक्का लागेका आयोजनाहरुलाई निरन्तरता दिन र सम्पन्न गर्न पर्याप्त बजेट व्यवस्था गरिएको छ,” मन्त्री जुुग्जालीले भन्नुुभयो “योजनाको संख्या कम हुँदा प्राविधिक जनशक्तिलाई भार कम पर्ने, योजना कार्यान्वयन नियमन र अनुगमन सहज हुने, प्रशासनिक लागत घट्ने र उपलब्धी देखिने अपेक्षा गरेका छौ ।” मन्त्री जुुग्जालीले पदभार सम्हाल्ने क्रममा गर्नुुभएको प्रादेशिक सडक सञ्जाल गुरुयोजनको मस्यौदाका लागि गठन भएको प्राविधिक सहयोग समितिले प्रतिवेदन तयार गर्ने अन्तिम चरणमा पुुगेको छ ।  २१ करोड रुपैयाँको आपतकालिन सडक मर्मत सम्भार कोष खडा गरि प्रदेश सरकार अन्तरगतका सडकमा बाह्रै महिना यातायात सञ्चालन गर्न बर्खा याममा अवरुद्ध सडकहरुको मर्मत सम्भार गरिएको मन्त्रालयले जनाएको छ ।

गण्डकी प्रदेशका मुुख्य र सहायक राजमार्ग तथा जिल्लाका प्रमुख सडकहरुको वैकल्पिक मार्ग पहिचान गरि यातायात सञ्चालनको व्यवस्था मिलाएको मन्त्रालयका उपसचिव टिकाराम पौडेलले जानकारी दिनुुभयो । मध्यपहाडी, पोखरा मुुग्लीन, कालीगण्डकी कोरिडोर लगायत संघीय सरकारका आयोजना कार्यान्वयनमा गति दिन सहजिकरण र समन्वय गरेको उहाँले बताउनुभयो ।चालुु आर्थिक वर्षमा  १२ अरब  रुपैयाँ भन्दा बढी बजेट बिनियोजन भएको मन्त्रालयले थप तीन सय किलोमिटर सडक कालोपत्र, २५ वटा सडक पुुल र २० वटा झोलुुङ्गे पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको जनाएको छ । पोखरा उपत्यकामा वि.स. २०७७ मा छ महिना सञ्चालन भएर बन्द भएको मिटरमा ट्याक्सी सञ्चालन गर्ने सेवा यही भदौ १ गतेदेखि पुुन सञ्चालन भएको यातायात कार्यालय कास्कीका प्रमुुख डिल्ली रिजालले बताउनुुभयो । मिटरमा ट्याक्सी सञ्चालन हुुन थालेपछि यात्रु ठगिएको र चर्को भाडामा मारमा परेको गुनासो न्युनीकरण हुने अपेक्षा गरिएको छ ।

सार्वजनिक विद्युुतीय सवारी सञ्चालन मापदण्ड २०८० स्विकृत र लागु भएको र २० वर्षे ट्याक्सी विस्थापित गरि विद्युुतीय कार दर्ता गर्ने प्रक्रीया अघि बढेको छ । यातायात कार्यालय कास्की सवारी चालक अनुुमतीपत्रमा अनलाइनबाट लाइसेन्स नविकरण गर्ने र बिहान ८ बजेदेखि सेवा सञ्चालन भएको छ । यातायात व्यवस्था कार्यालय बाग्लुङमा ११ वर्षपछि चार पाङ्ग्रे सवारी साधनको लाइसेन्सको प्रयोगतात्मक परिक्षा सञ्चालन गर्न ट्रायल सेन्टर छनौट भई सम्झौताको तयारी भएको मन्त्री जुग्जालीले बताउनुभयो ।

बागलुङमा चार पाङ्ग्रेको लाइसेन्स सेवा शुरु भएपछि पोखरामा सेवाग्राहीको चाप घट्ने अपेक्षा गरिएको छ । यातायात व्यवस्था कार्यालय कास्की सवारीको अभिलेखलाई डिजिटलाइजेसन गरेको र अन्य कार्यालयहरुमा पनि यो काम गर्न चालुु आर्थिक बर्षमा बजेट बिनियोजन भएको छ । यातायात क्षेत्रमा नितिगत रुपमा सरल र सेवाग्राहीमैत्री बनाउन यातायात सेवा ऐन संसोधन तथा नियमावली र कार्यबिधी निर्माणको काम भैरहेको मन्त्रालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार