नेपाल जेसीज क्षेत्र ‘ख’ सम्मेलनको तयारी पुरा

  म्याग्दी न्युज संवाददाता

बेनी। म्याग्दी सदरमुकाम बेनीमा भोलीदेखि औपचारिक रुपमा नेपाल जेसीजको क्षेत्र ख सम्मेलन सुरु हुँदै छ । सम्मेलनकाे तयारी भएकाे छ ।असोज ५ गतेसम्म हुने जेसीजको सम्मेलनको विहिवार बेनीमा भव्य उद्घाटन हुनेछ ।  म्याग्दी जेसीज स्थापना भएको २५ बर्ष पुरा भएको अवसरमा हुन लागेको क्षेत्र ख सम्मेलनलाई म्याग्दी जेसीजले म्याग्दी चिनाउने अवसरका रुपमा उपयोग गर्दै छ । स्थापना भएको छोटो समयमा नै सन २००७ मा पहिलो पटक क्षेत्र ख सम्मेलन गरेको म्याग्दी जेसीजले नेपाल जेसीजमा छुट्टै पहिचान बनाउन सफल भएको छ ।

बेनीमा भएको पहिलो सम्मेलनलाई नेपाल जेसीजका अभियान्ताहरुले अविश्मरणीय क्षणको रुपमा सुनाउने गर्छन् । पहिलो सम्मेलन गरिसकेको म्याग्दी जेसीजले दोस्रो पटक आतित्यथा गर्न गएको सम्मेलनलाई थप व्यवस्थित, प्रभाबकारी र स्मरणीय बनाउने जमर्को गरेको छ । सम्मेलनमा क्षेत्र ख अन्तरगतका ४१ शाखाका करिब ६ सय जनाले सहभागीता जनाउने आयोजकले जनाएको छ । त्यसैगरि देशभरका १७८ वटै नेपाल जेसीजका शाखाहरुबाट समेत पर्यवेक्षकको रुपमा सहभागीता रहने म्याग्दी जेसीजका शाखा अध्यक्ष सुमन बानियाँले जानकारी दिनुभयो ।

सम्मेलन जेसीजको आन्तरिक सम्मेलन भएपनि देशभरबाट प्रतिनिधिहरु आउने भएकाले सम्मेलनलाई म्याग्दी चिनाउने अभियानका रुपमा सञ्चालन गर्ने जमर्को गरिएको उहाँले बताउनुभयो । बेनीको खुलामञ्चमा सञ्चालन हुने सम्मेलनमा भाग लिन आउने जेसीजकर्मीहरुलाई स्वागत गर्न बेनी बजार सरसफाई गरिएको छ भने तुल, व्यानर र धोजापतकाले बजार सजावत समेत गरिएको छ । सम्मेलनमा भाग लिन आउने अतिथिहरुको लागि आवास व्यवस्थापन, कार्यक्रम सञ्चालन हुने खुलामञ्च व्यवस्थापन देखि अतिथिहरुको आमन्त्रण र प्रचार प्रसारका काम सकिएको क्षेत्र ख सम्मेलन निर्देशक तथा म्याग्दी जेसीजका पूर्व अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभयो ।

सम्मेलनमा सहभागी हुन आउने अतिथिहरु बेनी आउन सुरु गरिसक्नुभएको छ । सम्मेलनलाई सफल बनाउन आर्थिक संकलन, मायाँको चिनो, साँस्कृतिक झाँकी, लगायतको समेत बन्दोबस्त गरिएको छ । अतिथिहरुलाई अल्लोको धागोबाट बुनेका झोला, बेनीको बजारको गीत लेखिएको रुमाल, पबित्र कालीगण्डकी नदीमा पाईने शालिग्राम मायाँको चिनोको रुपमा प्रदान गरिने भएको छ ।

सम्मेलन सम्पन्न गराउन ४२ लाखको खर्च अनुमान गरिएको निर्देशक श्रेष्ठले जानकारी दिनुभयो । सम्मेलन अवधिमा म्याग्दीमा एक करोडको कारोबार हुने अनुमान गरिएको छ । सम्मेलनमा सहभागी हुन आउने प्रतिनिधिलाई म्याग्दीका पर्यटकीय र धार्मिक स्थलहरु लभ्लीहिल, गलेश्वरधाम, सिंगा तातोपानी लगायतका क्षेत्रमा भ्रमण गराउने समेत तयारी गरिएको छ । सम्मेलनको विहिवार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुहुने छ । सम्मेलनको उद्घाटनको अवसरमा बेनीमा झाँकी सहितको र्‍याली निकालिनेछ ।

बेनी बजार र मंगलाघाट बजार परिक्रमा गर्ने र्‍यालीमा सहभागीहरुलाई चोक चोकमा विभिन्न जाति, समुदाय र संघ संस्थाको मौलिक, कला, संस्कृति र परम्पराको पदर्शन गराईनेछ । सम्मेलन परिसरमा म्याग्दी प्रवासी नेपाली संघ ९मोना० अष्ट्रेलियासंगको सहकार्यमा नदेखिएको म्याग्दी शिर्षकको तस्बिर पदर्शनी हुनेछ भने सम्मेलनमा म्याग्दीको कला, संस्कृति र पर्यटन सम्भावनाको बृत्तचित्र समेत पदर्शन गरिने भएको छ । म्याग्दीको मौलिक कला र संस्कृति सहितको मनोरञ्जन दिन उद्घाटन हुने दिनको साँझमा ‘म्याग्दी नाईट’ साँस्कृतिक प्रस्तुती राखिने आयोजकले जनाएको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार