मिलन म्याग्दीको अध्यक्षमा दिलमाया

  म्याग्दी न्युज संवाददाता

बेनी । मिलन म्याग्दीको अध्यक्षमा दिलमाया बिटालु चयन हुनुभएको छ ।शनिवार सदरमुकाम बेनीमा सम्पन्न १९औं वार्षिक साधारणसभा तथा ११औं अधिवेशनबाट बिटालु अध्यक्षमा निर्वाचित हुनुभएको हो । अधिवेशनले संस्थाको निवर्तमान अध्यक्षमा कमला बानियाँ थापा, उपाध्यक्षमा तिलकुमारी राना, सचिवमा ज्ञानुकुमारी बानियाँ केसी, कोषाध्यक्षमा मिना राम्जाली र सहसचिवमा बलबहादुर विश्वकर्मा निर्वाचित हुनुभएको छ ।

अधिवेशनबाट मिलनको कार्यसमिति सदस्यहरुमा बालकुमारी पुन, मोहन बानियाँ, तेजबहादुर गुरुङ र राजेन्द्रकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । साधारणसभा तथा अधिवेशनको अवसरमा मिलन म्याग्दीले संस्थामा रहेर उत्कृष्ट कार्य गरेको भन्दै तीन जनालाई सम्मान समेत गरेको छ । सम्मानित हुनेहरुमा संस्थाका पूर्व अध्यक्ष शिव बानियाँ, कार्यकारी निर्देशक दिलमाया बिटालु र असिस्टेन्ट सव–इन्जिनियर यामबहादुर विश्वकर्मा रहनुभएको छ । उहाँहरुलाई सम्मानपत्र र मायाको चिनो करुवा प्रदान गरी सम्मान गरिएको थियो ।

यसअघि साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले सामाजिक क्षेत्रमा मिलन संस्थाले पु¥याएको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले राज्य नपुगेका ठाउँमा संघसंस्थाहरु पुगेर समाज रुपान्तरण गर्नका लागि सचेतनामूलक तथा आवश्यक कार्यक्रमहरु सञ्चालन गरी सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । मिलन म्याग्दीका पूर्व अध्यक्ष एवं अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले मिलन म्याग्दीले स्थापनाकालदेखि नै जिल्लामा महिला, दलित, जनजाति र पछाडि पारिएका समुदायहरुको उत्थानमा काम गर्दै आइरहेकाले आगामी दिनमा पनि यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा मालिका गाउँपालिकाको अध्यक्ष बेगप्रसाद गर्बुजा, सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापा र गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दीका अध्यक्ष दीपक पौडेलले मन्तव्य व्यक्त गर्दै समाजमा पछाडी परेका वर्गहरुको उत्थान गर्नका लागि रचनात्मक क्रियाकलापहरु सञ्चालन गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभएको थियो ।

साधारणसभामा संस्थाका निवर्तमान अध्यक्ष कमला बानियाँ थापाले भावी कार्यक्रम, सचिव तिलकुमारी रानाले प्रगति, कोषाध्यक्ष ज्ञानुकुमारी बानियाँ केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । निवर्तमान अध्यक्ष थापाको अध्यक्षता र सचिव रानाको सञ्चालनमा सम्पन्न साधारणसभा तथा अधिवेशनको उद्घाटनसत्रमा कार्यकारी निर्देशक दिलमाया बिटालुले स्वागत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार