मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–३,मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन भएको छ । रघुगंगा गाउँपालिकाको सहयोगमा मौवाफाँट सामुदायिक सिकाई केन्द्रको आयोजनामा शिपमुलक तालिम अन्तरगत मुडा बुनाई तामिल सञ्चालन गरिएको हो ।

तालिममा २५ जनाले सहभागीता जनाएका छन् । एक सातासम्म सञ्चालन हुने तालिममा नेत्रलाल गोतामेले मुडा बुन्ने व्यवहारिक तालिम दिनुहुने भएको छ । तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले गाउँमा रहेका स्रोत र साधनको उपयोग गरि उद्यमशिल बन्न मुडा बुन्ने तालिम उपयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले गाउँमा खेर गएको बाँसलाई उपयोग गरि घरायसी प्रयोजनको लागि प्रयोग हुने मुडाको व्यवसायिक उत्पादन गर्न सकेमा यसले उद्यमी र उद्यमशिलताको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सिकाई केन्द्र मार्फत विगतमा समेत विभिन्न लघुउद्यम सम्वन्धी तालिमहरु प्रदान गरिँदै आएको र यस पटक फुर्सदको समय र गाउँमा उपलब्ध हुने बाँसको उपयोगबाट उद्यमी बन्नतर्फ प्रेरित गर्ने उदेश्यले मुडा बुन्न तालिम आयोजना गरिएको सामुदायिक सिकाई केन्द्रका अध्यक्ष मुक्तिनाथ सुवेदीले बताउनुभयो । सिकाई केन्द्रका परिचालिका दुर्गादेवी भण्डारीको स्वागत र ज्ञानोदय माविका प्रधानध्यापक बिजय शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा सदस्य जयन्ती मल्ल भण्डारीले समेत मन्तव्य राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार