मुस्ताङमा हिमपात (तस्बिरहरु)

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । मुस्ताङमा हिमपात भएको छ । हिमालपारिको जिल्ला मुस्ताङमा सोमबार यसवर्षको पहिलो हिमपात भएको हो । शङ्कर आचार्यका अनुसार, उपल्लो मुस्ताङको लोमान्थाङदेखि जिल्ला सदरमुकाम जोमसोम र तल्लो क्षेत्र घाँसासम्म हिमपात भएको छ ।

पाँचवटा गाउँपालिका रहेको मुस्ताङको लोमान्थाङ, लो–घेकर दामोदरकुण्ड, बाह्रगुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाको सबै क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । अहिले पनि मुस्ताङमा हिमपात जारी छ । मुस्ताङको माथिल्लो क्षेत्रमा झण्डै २ फिटसम्म हिउँ जमेको अनुमान गरिएको छ । हिमपात भएपछि मुस्ताङमा चिसो बढेको छ ।

हिमपात भएर एक्कासी चिसो बढेपछि घर बाहिर निस्कन पनि समस्या भएको छ । मुस्ताङ सदरमुकाम जोमसोमको तापक्रम माइनस ३ डिग्री सेल्सियसमा पुगेको जनाइएको छ ।यता यसवर्ष मंसिर महिनाको दोस्रो हप्तामा नै पहिलो हिमपात भएपछि मुस्ताङका स्याउ उत्पादक कृषकहरु भने खुसी भएका छन् । हिमपातले स्याउको फूल खेल्न र दाना लाग्न सहयोग पुग्नुका साथै स्याउ उत्पादनमा समेत वृद्धि हुने भएकाले स्थानीय कृषकहरु खुसीले रमाएका छन् । यसैबीच मुस्ताङमा चिसो बढ्दै गएपछि उपल्लो मुस्ताङका झण्डै ७० प्रतिशत र तल्लो मुस्ताङका ५० प्रतिशत स्थानीयवासी जाडो छल्न बेसीतर्फ झरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार