पुलाचौरका कृषकलाई तरकारीको बिउबिजन र मल सहयोग

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरका ५० जना कृषकलाई तरकारी खेती गर्नका लागि बिउबिजन र मल सहयोग भएको छ । असल छिमेकी नेपालको आयोजनामा शनिवार एक कार्यक्रमको आयोजना गरी पुलाचौरका कृषकहरुलाई मलबिउ हस्तान्तरण गरिएको हो ।

पुलाचौर र सेताढुङ्गा गरी दुईवटा कृषक समूलाई विभिन्न प्रकारका तरकारीको बिउबिजन सहयोग गरिएको असल छिमेकी नेपालले जनाएको छ । कार्यक्रममा पुलाचौरका २५ जना कृषकहरुलाई २५ केजी प्राङ्गारिक मल, वर्षे आलु, सिमीको बिउ, लसुन, अदुवा, बेसार, काँक्रो, प्याज, करेला र जुगनीको बिउ वितरण गरिएको असल छिमेकी नेपालका कार्यक्रम अधिकृत सुरेन्द्र दासले बताउनुभयो ।

यसैगरी सेताढुङ्गाका २५ जना कृषकहरुलाई पनि प्राङ्गारिक मल २५ केजी, सुष्म तत्व एक किलो, हाईब्रिड प्रजातिको मकैको बिउ, सिमी, काँक्रो, घिरौंला, करेला, लौका, चिप्ले भेन्टा र खुर्सानीको बिउ सहयोग प्रदान गरिएको छ । उक्त बिउबिजन र मल बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछाने र पुलाचौरका वडा अध्यक्ष गोविन्द बानियाँले कृषकहरुलाई हस्तान्तरण गर्नुभएको थियो ।

हस्तान्तरणपछि कार्यक्रमको समापन गर्दै वडाध्यक्ष बानियाँले विपन्न कृषकहरुलाई लक्षित गरेर वितरण गरिएको तरकारीको बिउको सदुपयोग गर्न सुझाव दिनुभयो । उहाँले मोबाइलबाट कृषि एपको प्रयोग गरेर पनि कृषि खेती गर्न सकिने बताउँदै वडा र नगरपालिकाबाट कृषकलक्षित विभिन्न कार्यक्रम, योजना र बजेटमा प्राथमिकता दिइएको बताउनुभएको थियो । पुलाचौरको जुनकुनै टोल तथा वस्तीमा पनि कोही समस्यामा परेको भए वडामा जानकारी गराउन आग्रह गर्दै समस्यामा परेकाहरुलाई तत्कालै आवश्यक सहयोग गरिने उहाँले जानकारी दिनुभयो ।

बेनी नगरपालिकाको कृषि शाखाका नायव प्राविधिक सहायक रविन्द्रप्रसाद पन्तले तरकारीको बिउ र मलको प्रयोगका विषयमा सहजीकरण गर्नुभएको कार्यक्रम असल छिमेकी नेपालका कार्यक्रम अधिकृत सुरेन्द्र दासको सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार