गणतन्त्रको विकल्प राजतन्त्र होइन : महामन्त्री शर्मा

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । नेपाली काँग्रेसका केन्द्रीय महामन्त्री विश्वप्रकाश शर्माले राजतन्त्र भन्दा वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ठिक भएको बताउनुभएको छ । काँग्रेस म्याग्दीको आइतबार बेनीमा जिल्ला सम्मेलनलाई सम्बोधन गर्नुहुँदै प्रतिनिधि सभा सदस्य समेत रहनुभएका महामन्त्री शर्माले यस्तो बताउनुभएको हो । ‘‘वर्तमान व्यवस्थामा समस्या छन् ,ति समस्यालाई सबै मिलेर समाधान गर्दै जानुपर्छ । तर, समस्या आयो भन्दैमा राजा ल्याउनुपर्छ भन्ने होइन,’’ शर्माले भन्नुभयो ,‘‘पहिले राजतन्त्रमा नेतृत्वको विरोध र आलोचना गर्न मिल्दैनथ्यो । अहिले लोकतन्त्रमा लोकतन्त्रको विरोध गर्न पाइएको छ ,त्यसैले नागरिकमा भएको असन्तुष्टि, गुनासोलाई सम्बोधन गर्न व्यवस्थाप्रति आकर्षण बढाउने नीति बनाउनुपर्छ ।’’

निर्वाचित जनप्रतिनिधि, सरकारी कर्मचारी तथा राज्यका संयन्त्रहरु नागरिकप्रति जवाफदेही, जिम्मेवार नहुँदा व्यवस्थाको बिरोध भएको महामन्त्री शर्माले बताउनुभयो । नागरिकहरुमा सकारात्मक सन्देश प्रवाह गराउन काँग्रेसका नेता कार्यकर्ताहरु अहिलेको गणतन्त्र, सङ्घीयता, समावेशी, समानुपातिक व्यवस्थाको अपनत्व लिएर जनताको घरदैलोमा पुग्नुपर्ने बताउनुभयो ।

सङ्घीयतालाई बलीयो बनाउन सरकारले शक्ति र स्रोत विकेन्द्रिकरण गर्ने कानुन बनाउन आवश्यक रहेको महामन्त्री शर्माको भनाई थियो । नियन्त्रणमुखी र पारिवारले राज्य चलाउने व्यवस्थामा नागरिकले भोगेका दुख, कष्टसँग अहिलेको व्यवस्थालाई तुलना गर्न आग्रह गर्नुभयो । साथै उहाँले काँग्रेस मिसन २०८४को अभियानमा नरहेको बताउनुभयो । ‘‘केही पुराना र नयाँ भनिएका राजनितिक दलले मिसन २०८४ अभियान चलाएका छन् । काँग्रेस त्यस्तो तत्कालको लाभको कुरा हेर्दैन । हामी देश र जनताको चिन्ता गरेका छौं ,सबैले गर्नुपर्छ । अहिले जनताले कसरी सुविधा पाउँछन् भनेर सोच्नुपर्छ ,’’उहाँले थप्दै भन्नुभयो ।

काँग्रेसका जनप्रतिनिधिहरुलाई जिम्मेवार, जवाफदेही र पार्टीसँग समन्वय गर्न निर्देशन दिनुभयो । ‘‘नेपालको राजनीति र अर्थतन्त्रमा समस्या देखिएको हो । सङ्कट आइसकेको होइन । सङकट र समस्यालाई फरक रुपमा बुझ्नुपर्छ,’’ शर्माले भन्नुभयो ,‘‘समस्यालाई पार लगाउन सकिन्छ । सरकारले गरेका प्रयासले परिणाम स्वरुप आर्थिक सूचकमा सुधार आएको छ । अर्थतन्त्रलाई अप्ठ्रोमा पर्ने गरेर जथाभावी रुपमा ऋण लिएर अनुत्पादन र अनावश्यक क्षेत्रमा लगानी नगर्न सरकारलाई सचेत बनाएका छौं। ’’

कार्यक्रममा केन्द्रीय सदस्यहरु गुरु बराल ,किरण शर्मा पौडेल,पुर्व जिल्ला सभापति तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाँ ,जिल्ला उपसभापति केबी भण्डारी ,पुर्व सहसभापति नेत्र महत ,कांग्रेस बागलुङका सभापति जित शेरचन ,गण्डकी प्रदेश सभा सदस्य विमला गौचन,      प्रदेश कार्यसमिति सदस्य मनकुमारी विश्वकर्मा ,प्रदेशसभा निर्वाचन क्षेत्र कका सभापति ओम छन्त्याल ,खका सभापति टंकप्रसाद पुन , बलभद्र ढकाल  तरुणदल उपाध्यक्ष श्रीप्रसाद राेका ,लगायत,वडा तथा पालिकाका कार्यसमिति पदाधिकारी र जनप्रतिनिधि एवं भातृ संगठनका पदाधिकारीहरुले बोल्नुभएको थियो ।

सम्मेलनमा ४५ वडाका करिब सात सय पचास क्षेत्रीय प्रतिनिधिहरु सहित अन्य नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ । जिल्ला सभापति तथा प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ले सम्मेलन हुन बाँकी पालिका ,वडामा सम्पन्न गर्ने ,टोल स्तरमा सरकारले गरेका राम्रा कामको बारेमा प्रचारप्रसार ,जनताका गुनासो सुन्ने लगायत समस्या समाधानको पहल गर्ने कार्ययोजना बनाउने बताउनुभयो । उपसभापति हरिकुमार श्रेष्ठले स्वागत मन्तव्य तथा सचिव भरत रकाल र सहसचिव श्रीराम पौड्यालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । काेषाध्यक्ष अमृतमान शेरचनले अार्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार