म्याग्दीमा राष्ट्रिय परिचयपत्रको अनलाइन फारम निशुल्क भरिने

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्रको अनलाइन फारम निशुल्क भरिदिन थालेको छ । आफैँ अनलाइन फारम भर्न नसक्ने सेवाग्राहीहरुले शूल्क तिरेर व्यवसायीको सहायता लिनुपर्ने बाध्यता हटेको छ ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले प्रशासन कार्यालयमा बिहीबारदेखि निशूल्क फारम भरिदिन थालेको जानकारी दिनुभयो । ‘राष्ट्रिय परिचयपत्रको अनलाइन फारम भर्नका लागि छुट्टै कर्मचारी, कम्प्युटर र प्रिन्टरको व्यवस्था मिलाएका छौं,’ उहाँले भन्नुभयो ‘आफैँ भर्न सक्नेले आफैँ भर्नुहुन्छ  नसक्ने सेवाग्राहीले बजारका साइबरमा शूल्क तिरेर राष्ट्रिय परिचयपत्रको अनलाइन फारम र विवरण भर्नु पर्दैन् । कर्मचारीले भरिदिने व्यवस्था मिलाएका छौँ ।’

निशुल्क रुपमा प्रशासनमै अनलाइन फारम भर्दा खर्चको बचत र झञ्जट हटेको बेनी नगरपालिका–२ गौश्वराकी सपना केसीले  बताउनुभयो । जापानबाट आएकी केसी म्याग्दीमा राष्ट्रिय परिचयपत्रको अनलाइन फारम भर्ने निशुल्क सेवा लिने पहिलो सेवाग्राही हुन् । बजारको साइबरमा राष्ट्रिय परिचयपत्रको अनलाइन फारम भरेको एक सयदेखि दुई सय रुपैयाँ शूल्क लिने गरेका सेवाग्राहीले बताएका छन् ।

म्याग्दीमा दैनिक ३५ जनाले राष्ट्रिय परिचयपत्रको अनलाइन फारम, विवरण भर्ने र बायोमेट्रिक गर्ने सेवा लिने गरेका छन् । व्यक्तिको आँखा, अनुहार, हात, औँठाछाप आदिको डिजिटल (विद्युतीय) विवरण संकलन गर्ने आधुनिक प्रणालीलाई बायोमेट्रिक भनिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार