‘प्रथम म्याग्दी भलिबल कप’प्रतियोगिता सुरु

शिक्षक–शिक्षक र विद्यार्थी–विद्यार्थीबीच प्रतिस्पर्धा

  म्याग्दी न्युज संवाददाता
myagi cup

बेनी ।म्याग्दीको सदरमुकाम बेनीमा मङ्गलवार देखि प्रथम म्याग्दी भलिबल कप–२०८० सुरु भएको छ । ‘नेपालको राष्ट्रिय खेल भलिबल’ भन्ने मूल नारासहित म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजा (खम्बीर)ले भलिबल खेल सबैको लोकप्रिय खेल भएकाले आफूले पनि प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले खेलकुदले शारिरीक र मानसिक विकासमा महत्वपूर्ण सहयोग पु¥याउने बताउँदै म्याग्दी जिल्लामा समग्र खेलकुद क्षेत्रको विकास तथा खेलमैदान स्तरोन्नति गर्नका लागि आफ्नो तर्फदेखि सक्दो सहयोग गर्ने बताउनुभयो ।

आउँदो १२ गतेसम्म सञ्चालन हुने भलिबल प्रतियोगितामा जिल्लाभरबाट शिक्षक र विद्यार्थी गरी कुल ५६ टिमको सहभागिता रहेको छ । विद्यार्थीतर्फ छात्र १५ र छात्रा १२ टिमले सहभागिता जनाएका छन्भने शिक्षकतर्फ पुरुष २० र महिला १० टिम रहेको म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले जानकारी दिनुभयो । उहाँले म्याग्दी जिल्लाबाट उत्पादित खेलाडीहरुले राष्ट्रियस्तरमा पुगेर नेतृत्व समेत गरेको बताउँदै भलिबल खेलको विकास र प्रवद्र्धन गर्नका लागि सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

भलिबल प्रतियोगिताको छात्र तथा छात्रातर्फ प्रथम पुरस्कार नगद ५०÷५० हजार र द्वितीय २५÷२५ हजार, शिक्षक, शिक्षिकातर्फ प्रथम पुरस्कार नगद २०÷२० हजार र द्वितीय १०÷१० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रले विजेता र उपविजेतालाई पुरस्कृत गरिने आयोजकले जनाएको छ । यसैगरी विद्यार्थीतर्फको उत्कृष्ट खेलाडीलाई पाँचहजार र शिक्षकतर्फको उत्कृष्ट खेलाडीलाई दुईहजार पाँचसय रुपैयाँ पुरस्कारको व्यवस्था समेत गरिएको छ ।

भलिबल प्रतियोगिताको उद्घाटनसत्रमा बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसी, म्याग्दीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, गौमती खत्री अक्षयकोषका अध्यक्ष सन्दीप खत्री र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले मन्तव्य व्यक्त गर्नुभएको थियो । म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँको अध्यक्षता र महासचिव कुमार किसानको स्वागतमा सम्पन्न उद्घाटनसत्र कार्यक्रमको सञ्चालन सञ्चारकर्मी अमित विश्वकर्माले गर्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार