पोखरा । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामबाट विभिन्न शिलशिलामा पोखरामा बसोबास गर्दै आएका दग्नामबासिको साझा संस्था दग्नाम दर्मिजा समाज पोखराको ११औं बार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिबार पोखरा हेमजा स्थित दुरलुङ्ग समाजको सभाहलमा विशेष कार्यक्रमका बीच संस्थाको ११औं बार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि एवं प्रतिनिधि सभा सदस्य खमबहखदुर गर्बुजा ‘खम्विर’ले समाज १०औं वसन्त पुरा गरी ११औं वर्षमा प्रवेश गरेकोमा बधाई तथा शुभकामना ब्यक्त गर्नुभयो । उहाँले हरेक सुखदुःखमा सहकार्य तथा सहयोग गर्न समाजको आवश्यक हुने बताउनुभयो । विविध मौलिक कला संस्कृति संरक्षण र प्रबर्द्धन गर्न सबै एक हुनुपर्नेमा जोड दिनुभयो । बेलायती सेना सेवा निवृत्त पश्चात आफ्नो परिवार र सुखसहेललाई थाती राखेर जनताकै काम गर्न आएकाले म्याग्दीको विकास र समृद्धीका लागि स्थानीय तह, प्रदेश र संघमा सक्दो पहल गर्ने सांसद गर्बुजाले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

रघुगंगा गाउँपालिका नम्वर ४ का वडा अध्यक्ष पविन गर्बुजाले गाउँलाई सुखी, समृद्ध र विकसितका लागि आफुले कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । जनताको चाहना र भावना अनुसारको काम गरी गाउँलाई जिल्लामा मात्र नभई देशमै चिनाउने गरी विकास निर्माण लगायतको काम गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा समाजका सल्लाहकार तथा संस्थापक अध्यक्ष धनबहादुर पुनले ३० घरबाट गठन भएको दग्नाम दर्मिजा समाज विगतको अवस्थादेखि याहाँ सम्म आईपुग्दा बिभिन्न आरोह अवरोहहरु पार गरेको स्मरणगर्दै सम्पूर्ण सहयोगीदाता, समाजका पुर्वपदाधिकारी तथा सदस्यहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।

बिक्रम संबत २०६९ मा स्थापना भएको समाज तत्कालिन समय भइपरी आउने समस्या समधानका लागि समाजका ३० सदस्यबाट मासिक रु २० का दरले लेवि संकलन सुरु गरिएको कोषाध्यक्ष राकुमारी पुनले जानकारी दिनुभयो । उहाँका अनुसार हाल समाजमा ७६ सदस्य आबद्ध रहको र चौमासिक रु ५०० का दरले लेवि संकलन गर्दा कोषमा रु ३४ लाख ४८ हजार मौज्दात रहेको बताउनुभयो ।

समाजका अध्यक्ष श्यमप्रसाद थजालीको अध्यक्षता उपाध्यक्ष खेमलाल गर्बुजाको स्वागत र सचिव फुलबहादुर गर्बुजाले सञ्चालन गरेको कार्यक्रममा समाजिक कार्यमा अतुलनिय योगदान पु¥याएको भन्दै सांसद गर्बुजा, वडा अध्यक्ष पविन र धनिलाल गर्बुजालाई सम्मान गरेका थिए । आमा समुहको सांङ्गितिक प्रस्तुति रहेको कार्यक्रम समारोहमा २०० बढी उपस्थिति रहेको थियो ।
समाजले स्वास्थ्य, शिक्षा, भौतिक निर्माण, आपद बिपद तथा कला संस्कृती संरक्षण लगायत विविध शिर्षकमा आर्थिक सहयोग गर्दै आएको छ ।



































