दग्नाम दर्मिजा समाज पोखराको ११ औं बार्षिकोत्सव सम्पन्न

  धनिलाल गर्बुजा

पोखरा । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नामबाट विभिन्न शिलशिलामा पोखरामा बसोबास गर्दै आएका दग्नामबासिको साझा संस्था दग्नाम दर्मिजा समाज पोखराको ११ औं बार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिबार पोखरा हेमजा स्थित दुरलुङ्ग समाजको सभाहलमा विभिन्न कार्यक्रम गरि संस्थाको बार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि एवं प्रतिनिधि सभा सदस्य खमबहखदुर गर्बुजा ‘खम्विर’ले समाज १० औं वसन्त पुरा गरी ११ औं वर्षमा प्रवेश गरेकोमा बधाई तथा शुभकामना ब्यक्त गर्नुभयो । उहाँले हरेक सुखदुःखमा सहकार्य तथा सहयोग गर्न नै समाजको आवश्यक हुने बताउनुभयो । उहाँले समाजको सांस्कृतिक तथा मौलिक कला संस्कृति संरक्षण र प्रबर्द्धन गर्न सबै एक हुनुपर्नेमा जोड दिनुभयो । बेलायती सेनाको जागिरबाट सेवा निवृत्त भएपछि आफ्नो परिवार र सुखसहेललाई थाती राखी जनताकै काम गर्न आएकाले म्याग्दीको विकास र समृद्धीका लागि स्थानीय तह, प्रदेश र संघमा सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

रघुगंगा गाउँपालिका नम्वर ४ का वडा अध्यक्ष पविन गर्बुजाले गाउँलाई सुखी, समृद्ध र विकसित बनाउन आफुले कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । जनताको चाहना र भावना अनुसारको काम गरी गाउँलाई जिल्लामा मात्र नभई देशमै चिनाउने गरी विकास निर्माण लगाएतको कार्य गर्ने पनि उहाँले बताउनुभयो ।

कार्यक्रमका विशेष अतिथि समाजका सल्लाहकार तथा संस्थापक अध्यक्ष धनबहादुर पुनले ३० घर सदस्य भइ जन्मेको दग्नाम दर्मिजा समाज विगतको अवस्थादेखि हाल यो अवस्थामा आइपुग्न धेरै आरोह अवरोहहरु पार गरेको स्मरणगर्दै सम्पूर्ण सहयोगीदाता, समाजका पुर्वपदाधिकारी तथा सदस्यहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।

बिक्रम संबत २०६९ मा स्थापना भएको समाज तत्कालिन समय भइपरी आउने समस्या समधानका लागि समाजका ३० सदस्यबाट मासिक रु २० का दरले लेवि संकलन सुरु गरिएको कोषाध्यक्ष राकुमारी पुनले जानकारी दिनुभयो । उहाँका अनुसार हाल समाजमा ७६ सदस्य आबद्ध रहको र चौमासिक रु ५०० का दरले लेवि संकलन गर्दा कोषमा रु ३४ लाख ४८ हजार मौज्दात रहेको बताउनुभयो ।

समाजका अध्यक्ष श्यमप्रसाद थजालीको अध्यक्षता उपाध्यक्ष खेमलाल गर्बुजाको स्वागत र सचिव फुलबहादुर गर्बुजाले सञ्चालन गरेको कार्यक्रममा समाजिक कार्यमा अतुलनिय योगदान पु¥याएको भन्दै सांसद गर्बुजा, वडा अध्यक्ष पविन र धनिलाल गर्बुजालाई सम्मान गरेका थिए । विभिन्न आमा समुहहरुबाट सांङ्गितिक प्रस्तुति रहेको कार्यक्रममा २०० भन्दा बढीको उपस्थिति रहेको थियो । समाजले स्वास्थ्य, शिक्षा, भौतिक निर्माण, आपद बिपद तथा कला संस्कृती संरक्षण लगायतका बिभिन्न शिर्षकमा आर्थिक सहयोग गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार