प्रजातन्त्र दिवसमा आयोजित रक्तदानमा ३७ पिन्ट रगत संकलन

  म्याग्दी न्युज संवाददाता

बेनी  । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बेनी अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ३७ पिन्ट रगत सङ्कलन भएको छ ।राष्ट्रिय प्रजातन्त्र दिवस जिल्ला समारोह समितिको त्रिदीवसीय कार्यक्रम अन्तरगत सोमबार आयोजित रक्तदान कार्यक्रममा जनप्रतिनिधि, निजामति कर्मचारी, सुरक्षाकर्मी र सर्वसाधारणले रक्तदान गरेका थिए। रक्तदान कार्यक्रममा बोल्ने बक्ताले म्याग्दीमा रक्तदानप्रति आर्कषण ह्वात्तै बढेको बताएका थिए । बेनी नगरपालिकाका मेयर सुरत केसी, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल लगायतले मन्तब्य राखेका थिए।

नेपाल रेडक्रस सोसाइटीका सभापति अमर बानियाँको स्वागत, जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको अध्यक्षता र रेडक्रस सोसाईटीका कार्यालय प्रमुख धनञ्जयकुमार श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा बेनी अस्पतालका अध्यक्ष ज्ञानेन्द्रप्रसाद सुुबेदी, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल लगायत जिल्लाका सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

बेनी अस्पतालभित्र रहेको रक्तसंचार केन्द्रमा रगतको अभावकै कारण बिरामीको उपचारमा समस्या भएको जानकारी पाउँदा वित्तिकै रक्तदानका लागि दाताहरु तत्कालै पुग्ने गरेका छन् । म्याग्दीमा संकलन गरिएको रगत बागलुङ, पर्वत र कास्कीका बिरामीका लागि पठाउने गरिन्छ । निशुल्क रक्तदान र रगत प्रयोग गर्ने बिरामीले समेत अहिले शुल्क तिर्नुपदैन । डेढदशक यता रगतकै अभावका कारण म्याग्दीमा कुनैपनि बिरामीले मृत्युवरण गर्नुपरेको छैन् ।

यसैबीच प्रजातन्त्र दिवसकै अवसरमा बेनी अस्पतालमा रहेका १७ जना बिरामीलाई फलफुल वितरण गरिएको थियो । म्याग्दीमा तीनदिनसम्म मनाइने दिवसको अवसरमा सरसफाई, जेष्ठ नागरिकलाई फलफुल वितरण सहित विभिन्न कार्यक्रमहरु गरिएको छ । विसं २००७ फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा प्रत्येक वर्ष फागुन ७ गते विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार