गलेश्वर माविमा प्रभु बैंकको वित्तीय साक्षरता

  म्याग्दी न्युज संवाददाता

बेनी ।प्रभु बैंक लिमिटेड बेनी शाखा म्याग्दीको आयोजनामा  मङ्गलवार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिका–९, घतानस्थित रहेको गलेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरेर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो ।

प्रभु बैंकद्वारा ग्लोबल मनी विक २०२४ अन्तर्गत ‘प्रोटेक्ट योअर मनी, प्रोटेक्ट योअर फ्युचर’लाई मध्यनजर गरेर विद्यार्थीहरुलाई वित्तीय साक्षरताको बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा प्रभु बैंक बेनी शाखाका प्रवन्धक विनोद केसीले आफ्नो आयव्ययको अभिलेख राख्ने तरिका, योजना बनाएर बचत तथा खर्च गर्दा हुने फाइदा, सुरक्षित भविष्यको लागि बजेटको आवश्यकतालगायत विषयमा सहजीकरण गर्नुभएको थियो ।

वित्तीय साक्षरता कक्षामा गलेश्वर माविको कक्षा ११ र १२ अध्ययन गर्ने करिब ५० जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । यसैगरी सोही कार्यक्रमअन्तर्गत बेनी नगरपालिका–१०, पात्लेखेतमा पनि पात्लेखेत युवा क्लबका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु र समुदायका अन्य नागरिकहरुलाई समेत वित्तीय साक्षरता सम्बन्धी विषयमा सहजीकरण गरिएको शाखा प्रवन्धक केसीले जानकारी दिनुभयो । एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीको सबै छ वटै पालिकामा प्रभु बैंक लिमिटेडको शाखा विस्तार भएको छ ।

बैंकको शाखा विस्तार भएपछि स्थानीय तहको केन्द्रबाटै पालिका र सर्वसाधारण नागरिकहरुले वित्तीय सेवा पाइरहेका छन् । पछिल्लो समय बैंकहरुले ग्रामीण क्षेत्रलाई केन्द्रीत गरेर बैंकिङ सेवासुविधाको प्रवाहसँगै वित्तीय साक्षरताको कक्षा पनि सञ्चालन गर्दै आइरहेको जनाइएको छ । इन्टरनेटको पहुँच विस्तारसँगै पछिल्लो समय मोबाइल बैकिङ प्रयोगकर्ता बढ्दै गैरहेको बैंकहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार