अपाङ्गता भएका व्यक्तिलाई क्षमता विकास अभिमुखिकरण

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दी सदरमुकाम बेनीमा क्षमता विकास अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । स्वावलम्बन जीवन पद्धति केन्द्र पोखराको आयोजनामा प्रादेशिक ऐन तर्जुमा प्रक्रियामा स्थानीय अपाङ्गता भएका व्यक्ति र अभिभावकहरुका लागि क्षमता विकास अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रादेशिक ऐन बनाउनका लागि ऐनका विषयवस्तु ,प्रक्रिया ,आवश्यक सम्भावित सवालका सुझाव संकलन गर्ने उद्देश्यले कार्यक्रम संचालन गरिएको केन्द्रका अध्यक्ष हेमबहादुर गुरुङले बताउनुभयो ।प्रदेश सरकारले बनाउने प्रादेशिक ऐनमा समावेशी शिक्षा ,स्वास्थ्यय र पुनस्र्थापना सेवा ,पहुँचयुक्त भौतिक पुर्वाधार र सुचना सेवा ,सहायक सामग्री ,प्रविधि ,रोजगारी ,अवसर ,सामाजिक सुरक्षा लगायत विषयवस्तुलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । साथै संघीय ऐन भन्दा प्रगतिशिल बनाउनुपर्नेमा जोड दिनुभयो ।

अपाङ्गता भएका द्धन्द पीडित राष्ट्रिय सञ्जालका अध्यक्ष सुरेन्द्र खत्रीले सङ्क्रमणकालिन न्याय र द्धन्दपीडित सवाल विषयमा प्रशिक्षण दिनुभएको थियो ।कार्यक्रममा राष्ट्रिय अपाङ्गता महासंघ गण्डकी प्रदेशका अध्यक्ष खमराज सुवेदीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा सहभागीले स्थानीय तहले पनि प्राथमिकता दिएर कार्यक्रम तथा बजेट ल्याउनुपर्नेमा जोड दिएका थिए । केन्द्रका परियोजना परामर्शदाता टेक बरुवालले स्वागत मन्तव्य राख्नुभएको थियो । क्षमता विकास अभिमुखिकरण कार्यक्रम मनाङ बाहेक गण्डकी प्रदेशका अन्य दश वटै जिल्लामा सञ्चालन गरिने केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार