गलेश्वरमा नवनिर्मित ज्येष्ठ नागरिक सभाहल उद्घाटन (फोटो फिचर)

  म्याग्दी न्युज संवाददाता

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९,स्थित गलेश्वरमा ज्येष्ठ नागरिक सभाहल निर्माण गरिएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोष र गलेश्वर धाम जेष्ठ नागरिक आश्रमको संयुक्त लगानीमा निर्मित सो सभाहलको शुक्रबार वडा अध्यक्ष चक्र केसी र गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले संयुक्त उद्घाटन गर्नुभयो ।

शिवालय क्षेत्र विकास कोषको १५ लाख रुपियाँ र जेष्ठ नागरिक आश्रमको तीन लाख ४९ हजार ६५० रुपियाँ लगानीमा कोरियन प्रविधिको एक सय जना बढी क्षमताको सुविधासम्पन्न सभाहल निर्माण गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष बमबहादुर पुनले जानकारी दिनुभयो । सामुदायिक स्वास्थ्य इकाईको भवनमा तला थप गरेर सभाहल निर्माण गरिएको छ । सभाहल निर्माण भएपछि जेष्ठ नागरिक सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्न सहज हुने उहाँले बताउनुभयो । १९ लाख ७४ हजार २७६ लागत अनुमान गरिएको सभाहल अनुमान भन्दा कम खर्चमा सम्पन्न गरेको उहाँले बताउनुभयो ।

भिडिओ हेर्नुहोस्…

सभाहल निर्माण भएपछि जेष्ठ नागरिकहरुलाई भजनकिर्तन गर्न, कार्यक्रम सञ्चालन गर्न र आश्रय लिनका लागि सहज हुने गलेश्वर पुलस्त्य पुलह अन्न क्षेत्रका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताउनुभयो ।यसअघि जेष्ठ नागरिक भजनकिर्तनका लागि गलेश्वर मन्दिरमा जाने गरेका थिए । खुल्ला ठाउँमा कार्यक्रम आयोजना गर्नुपर्ने समस्या थियो । आश्रममा हाल ५० जना जेष्ठ नागरिक रहेका छन् ।सोही अवसरमा मोना कतारले फर्निचर सोफासेट ,पोडियम र कुर्सि लगायत सामग्री सहयोग गरेको छ ।

वडा अध्यक्ष केसी र शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रेग्मीले सभाहल निर्माण भएपछि जेष्ठ नागरिक, धार्मिक क्षेत्र गलेश्वरधाम आउने भक्तजन लगायत विभिन्न कार्यक्रम संचालन गर्न सहज हुनेमा विश्वास व्यक्त गर्नुभयो । ज्येष्ठ नागरिक आश्रमका अध्यक्ष बमबहादुर पुनको अध्यक्षता, सचिव लक्ष्मण चालिसेको संचालन र आश्रमका उपाध्यक्ष टिकानन्द सुवेदीको स्वागतमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा आश्रममा बसोबास गर्ने ज्येष्ठ नागरिक, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।ज्येष्ठ नागरिक आश्रममा अहिले ४८ जना वृद्धवृद्धाको बसोबास रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार