देविस्थानको पन्थोकमा वडा कार्यालय भवन निर्माण

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५,को वडा कार्यालय भवन निर्माण गरिएको छ । गाउँपालिकाको ७६ लाख रुपैयाँ बजेटबाट पन्थोकमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण गरिएको हो । यसअघि भीम मावि परिसरमा रहेको साविक देविस्थान गाविसको पुरानो,साँघुरो र जिर्ण भवनबाट वडा कार्यालय सञ्चालन हुँदै आएको थियो ।

अपाङ्गमैत्री,भूकम्प प्रतिरोधी क्षमता भएको सात कोठा भएको एक तले भवन बनाइएको छ । भवन निर्माण गर्नका लागि गत मङ्सिर १८ गते भगवति मालिका कन्ट्रक्सनसँग ७६ लाख ७ हजार ५८८ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । एक सभाहल, वडा अध्यक्ष, सचिव, वडा सदस्य, प्राविधिक, सहयोगी र भण्डारण कक्ष भएको भवनमा ४ वटा शौचालय र शयनकक्ष छन् ।

नवनिर्मित भवन हस्तान्तरण भएपछि सेवा सुचारु गर्ने वडा अध्यक्ष मिम पुनले बताउनुभयो । उहाँका अनुसार, निवर्तमान वडा सदस्य सुवेदार दिलबहादुर पुनको नेतृत्वमा स्थानीयबासीले चन्दा सङ्कलन गरेर स्थानीय केमबहादुर मल्लबाट खरिद गरिएको करिब चार रोपनी जग्गा वडा कार्यालयलाई निशुल्क उपलब्ध गराउनुभएको थियो । सुविधासम्पन्न भवन निर्माण भएपछि वडा कार्यालयको सेवा प्रवाहमा सहज हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । वडा कार्यालय सम्म पुग्न पहुँचमार्ग समेत निर्माण गरिएको छ ।

पार्किङ सहितको सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण भएपछि वडा कार्यालयबाट प्रवाह हुने सेवा प्राप्त गर्न सहज बन्ने अपेक्षा गरिएको स्थानीय लोकेन्द्र पुनले बताउनुभयो । सात वटा वडा रहेका मालिका गाउँपालिकाको यसअघि वडा नम्बर ३ को किटिनिमा भवन निर्माण भएको थियो ।वडा नम्बर ६ को कार्यालय तत्कालीन दरवाङ गाविसको भवनबाट सञ्चालन हुने गरेको छ । वडा नम्बर २ र वडा ४को वडा कार्यालयहरु पनि पुरानो भवनबाट सञ्चालन हुँदै आएका छन् । आगामी आर्थिक वर्षका लागि गाउँपालिकाको प्रशासकीय, वडा नम्बर १ र ७ को वडा कार्यालय भवन निर्माणका लागि २ करोड रुपैयाँ बजेट बिनियोजन भएको अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार