च्युरीबोटमा दोस्रो परिवर्तन कप हुँदै

  म्याग्दी न्युज संवाददाता

दरबाङ । म्याग्दीको मालिका गाउँपालिका -४,चुरीबोटमा दोस्रो परिवर्तन कप संचालन हुने भएको छ । परिवर्तन युवा क्लब आयोजनामा यहीँ कात्तिक ७ गतेदेखि १५ गतेसम्म विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम संचालन हुने भएको हो । मेलामा प्रौढ ,महिला र पुरुष भलिबल तथा तारोखेल लगायत प्रतियोगिता संचालन हुने क्लब सचिव सुलब पुन मगरले जानकारी दिनुभयो।

उहाँका अनुसार , पुरुष भलिबलका बिजेताले ७० हजार रुपैयाँ सहित ट्रफी , मेडल र प्रमाणपत्र हात पार्नेछन । उपबिजेताले ४० हजार ट्रफी , मेडल र प्रमाणपत्र , महिला भलिबल बिजेता र उपबिजेताले क्रमशः२५ हजार र १५ हजार ट्रफी , मेडल ,प्रमाणपत्र हात पार्नेछन् । प्रौढ भलिबल तर्फ बिजेता र उपबिजेताले ३० हजार एवं १५ हजार ट्रफी , मेडल र प्रमाणपत्र ,तारोखेल बिजेता र उपबिजेताले क्रमशः ४० हजार र २५ हजार ट्रफी , मेडल र प्रमाणपत्र हात पार्नेछन । साथै पुरुष र महिला छेलो एवं लठो तान्ने तथा अन्डानिसान प्रतियोगिता बिजेता र उपबिजेताले नगद सहित मेडल र प्रमाणपत्र हात पार्नेछन् ।

मेलाको तयारी अन्तिम चरणमा पुगेको क्लब अध्यक्ष थम बहादुर घर्ती मगरले जानकारी दिनुभयो । परम्परागत कला संस्कृतिको जगेर्ना , खेलमैदान निर्माणलाई पूर्णता , खेलप्रतिभाको पहिचान र खेलकुद क्षेत्रको प्रवर्द्धन, एक आपसमा भाईचारा सम्बन्ध स्थापित गर्ने उदेश्यले मेला संचालन गर्न लागिएको क्लब अध्यक्ष घर्ती मगरले बताउनुभयो । उहाँका अनुसार , गत वर्ष मेला खर्च कटाएर प्राप्त आम्दानीले खेलमैदान निर्माणको काम सुरु गरेको बताउनुभयो । उहाँले मेलालाई सफल बनाउन सबैलाई सहयोग गर्न अपिल गर्नुभयो । गत वर्षको प्रथम परिवर्तन कपको उपाधि पुरुषतर्फ छापाखानी युवा क्लब , महिला तर्फ जनसाहारा युवा क्लब र प्रौढ तर्फ महखानी युवा क्लबले जितेका थिए । भने तारोखेलतर्फ जनसाहारा युवा क्लबले जितेको थियो । मेलाको प्रत्यक्ष प्रसारण म्याग्दी न्युज डटकमले गर्ने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार