धवलागिरीमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

  म्याग्दी न्युज संवाददाता

ताकम । धवलागिरी गाउँपालिका–७ ताकममा शनिबारदेखि पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ ।

धवलागिरी गाउँपालिकाले आयोजना गरेको प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य तथा पुर्वमन्त्री रेशम बहादुर जुग्जालीले समाजलाई जोड्ने भएकाले खेलकुद महत्वपूर्ण भएको बताउनुभयो । “राजनीति, धर्ममा बिवाद हुन्छ तर खेलकुदमा सबै सँगै हुन्छन्,” उहाँले भन्नुभयो “खेलाडीको व्यक्तित्व विकास र राष्ट्रलाई चिनाउन र समाजलाई जोड्न खेलकुदको महत्वपूर्ण भूमिका छ ।”

गण्डकी प्रदेशका पूर्वमन्त्रि समेत रहेका जुग्जालीले धवलागिरीको विकास र सम्बृद्धिका लागि आफ्नो तर्फबाट प्राथमिकताका साथ पहल गरेको बताउनुभयो । धवलागिरीको विकासका लागि सबै एकतावद्ध भएर अघि बढ्न अपिल गर्नुभयो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले खेलकुद प्रतियोगिताहरु खेलकुद सम्बन्धी नीति नियम भित्र रहेर सञ्चालन गर्नुपर्ने बताउनुभयो । राष्ट्रपति रनिङ्ग शिल्डले खेल प्रतिभा पहिचान र क्षमता प्रस्फुटनको अवसर सिर्जना हुने केसीले बताउनुभयो ।

प्रतियोगिता उद्घाटनका अवसरमा गरिएको मार्चपासमा धनजनता मावि फलियागाउँ प्रथम हुदै रु. दश हजार नगद पुरस्कार प्राप्त गरेको छ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा धवलागिरीका ११ वटा माध्यमिक र एक वटा आधारभूत विद्यालय सहभागि भएका छन् ।

एथलेटिक्स र भलिबलका २८ वटा खेलमा प्रतिस्पर्धा हुने धवलागिरी गाउँपालिकाका शिक्षा शाखा प्रमुख ख्यामराज सुवेदीले बताउनुभयो । प्रथम, दृतीय र तृतीय हुने विद्यालयले रनिङ्ग शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र सहित क्रमश रु. ६० हजार, ४० हजार र ३० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

हरेक खेलमा प्रथम हुने खेलाडीलाई नगद रु. एक हजार सहित पुरस्कृत गरिने भएको छ । धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन ताकम माविका प्र.अ. ओमकार पौडेलले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार