कपिलवस्तु —गैरकानुनी रूपमा लुकीछिपी भारतबाट नेपाल प्रवेश गरेका एक भारतीयसहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन् ।
शुद्धोधन गाउँपालिका-५ घिराउजोतस्थित सीमाबाट नेपाल प्रवेश गरेका ३२ वर्षीय लिगुईएन्वुई र ३५ वर्षीय एक्सटीयोलाई सशस्त्र र नेपाल प्रहरीको संयुक्त गस्ती टोलीले मंगलबार पक्राउ गरेको हो । भारतको उत्तर प्रदेश सिद्धार्थनगर जिल्ला कक्रहवाका २३ वर्षे अरबाज शेषले मोटरसाइकलमा उनीहरु ल्याउँदै गर्दा चिनियाँसहित उनी पक्राउ परेका हुन् ।
लिगुईएन्जुईसँग मात्र चिनियाँ पासपोर्ट भेटिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मोहनमणि अधिकारीले बताउनुभयो । लिगुईएन्जुईका साथबाट दुई थान ल्यापटप, ६ थान विभिन्न कम्पनीका मोबाईल र १४ हजार ७५० भारतीय रुपैयाँ बरामद गरिएको छ ।
गैरकानुनी रुपमा नेपाल प्रवेश गर्ने तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि सामानसहित अध्यागमन कार्यालय बेलहिया रुपन्देही पठाइएको छ । कान्तिपुर