
बेनी । म्याग्दीमा चालु आर्थिक बर्षको ८ महिनामा ३१ जना नयाँ क्षयरोगका विरामी भेटिएका छन् । विभिन्न स्थानीय तहमा गरिएको खकार परिक्षण तथा चेकजाँचबाट नयाँ क्षयरोगी भेटिएको प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । विश्वक्षयरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय म्याग्दीले सोमबार सदरमुकाम बेनीमा आयोजना गरेको पत्रकार तथा सरोकारवलाहरुसंग अन्तरक्रिया कार्यक्रममा जिल्लाको बेनी नगरपालिकामा १७, अन्नपूर्णमा ६, मालिकामा २, रघुगंगामा ३, मंगलामा १ र धवलागिरीमा २ जना क्षयरोगका विरामी भेटिएको क्षयरोग फोकलपर्सन गणेश सुबेदीले जानकारी दिनुभयो ।
म्याग्दीमा गत आर्थिक बर्षमा ४७, जना क्षयरोगका विरामी भेटिएका थिए । त्यस्तै २०७९/८० मा ६३ जना क्षयरोगी फेला परेका थिए । कार्यालय प्रमुख राजेन्द्र सापकोटाले समयमै क्षयरोगको पहिचान गरि औषधी सेवन गरेमा रोग निको हुने भएपनि रोगबाट पीडित भएकाहरु उपचारको लागि नआउने, नियमित रुपमा औषधी सेवन नगर्ने समस्याहरु रहेको भन्दै जनचेतना फैलाउन आबश्यक रहेको बताउनुभयो ।
क्षयरोगबाट पीडित भएका १ व्यक्तिबाट बर्षमा १० देखी १५ जना सम्म थप संक्रमित हुन सक्ने खतरा भएकाले हल्का ज्वरो र पसिना आउनु, छाती दुख्नु र श्वास फेर्न गाह्रो हुनु, दुई हप्ता वा सोभन्दा बढी समयसम्म लगातार खोकी लाग्नु, तौल घट्नु, खान खान मन नलाग्नु, खकारमा रगतदेखिएमा समयमै स्वास्थ्य परिक्षण गरि उपचार गर्न प्रमुख सापकोटाले आग्रह गर्नुभयो ।
कार्यक्रममा पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले समाजमा तिरस्कृत हुने डरले क्षयरोगी खुल्न नसकेको अवस्थामा जनचेतनामुलक सहित विभिन्न माध्यमबाट बिरामीको पहिचान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले स्वास्थ्यकर्मीको सुझाब अनुसार क्षयरोगीले औषधी सेवन गरेमा थप रोग फैलनबाट रोक्न सकिने बताउनुभयो । जिल्लाका सबै स्वास्थ्य संस्थाबाट यस रोगको औषधी निःशुल्क रुपमा उपलब्ध गराईन्छ । नेपाल सरकारले आगामी आव २०८२/८३ सम्म क्षयरोग अन्त्य गर्ने लक्ष्य लिएको छ ।