
बेनी । म्याग्दी जिल्ला सदरमुकाम बेनीमा घरपालुवा र सामुदायिक (छाडा) कुकुरको बन्ध्याकरण गरिएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीको आयोजना र बेनी नगरपालिकासँग सहकार्यमा आइतबार संचालित शिविरमा कुकुरलाई बन्ध्याकरणका साथै रेविज विरुद्धको खोप लगाइएको हो ।शिविरको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गर्नुभएको थियो । शिविरमा ३९ वटा सामुदायिक र २५ वटा घरपालुवा कुकुरको बन्ध्याकरण गरिएको केन्द्रका पशु सेवा प्राविधिक गणेशप्रसाद रिजालले जानकारी दिनुभयो ।
एनिमल केयर सेन्टर काठमाडौंका पशु चिकित्सक विकास श्रेष्ठ, सुमन थापा र बेनी नगरपालिकाका पशु सेवा शाखाका प्रमुख आषिश सापकोटाले कुकुरहरुको बन्ध्याकरण गर्नुभएको थियो । कुकुरको अनावश्यक वृद्धिदर र रेविजरोग नियन्त्रण गर्ने उद्देश्यले शिविरको आयोजना गरेर कुकुरको बन्ध्याकरण गर्नुका साथै रेविज रोग विरुद्धको खोप लगाइएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गोपाल गिरीले जानकारी दिनुभयो ।यसअघि रघुगङ्गा गाउँपालिकाको मौवाफाँटमा शुक्रबार र भगवतिमा शनिबार कुकुरको बध्याकरण शिविर भएको थियो । मौवाफाँटमा ५५ र भगवतिमा ६० वटा कुकुरको बन्ध्याकरण भएको गाउँपालिकाले जनाएको छ । कुकुरको वृद्धिका कारण रेविज र दुर्घटनाको जोखिम बढेकाले शिविर आयोजना गरेर बन्ध्याकरण र रेविज विरुद्धको खोप लगाइएको हो ।