१२ भाषाको गीतमार्फत उपाध्यायको १० विश्व रेकर्ड

काठमाडौँ । एक दर्जन अन्तर्राष्ट्रिय भाषामा १२ लाइनको गीत रेकर्ड गराएर गत महिना गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गरेका गीतकार डीआर उपाध्यायले फेरि १० वटा अवार्ड पाएका छन् ।राजधानीमा आइतबार उनलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले विभिन्न १० वटा विश्व रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरे ।

उपाध्यायले १७ वटा विधाका लागि अमेरिकन बुक अफ रेकर्ड, एसियन वर्ल्ड रेकर्ड, च्याम्पियन बुक अफ वर्ल्ड रेकर्ड, द ब्रिटिस वर्ल्ड रेकर्ड, वर्ल्ड बुक अफ रेकर्ड युनाइटेड किङ्डम, युरोपियन रेकर्ड बुक, यूआरएफ वर्ल्ड रेकर्ड, एक्सक्लुसिभ वर्ल्ड रेकर्ड, एभरेस्ट वर्ल्ड रेकर्ड र युनिभर्सल रेकर्ड फोरम एसियन रेकर्ड कायम गरेका हुन् ।

नारी–पुरुषले एकअर्काप्रति गर्ने माया र सम्मानबारे २ सय ८८ लाइनको गीत, सांकेतिक भाषाद्वारा शब्द परिभाषित गरेको गीत, हुलाक टिकटमा प्रकाशित विशिष्ट नेपाली व्यक्तिहरूको नाम–कामबारे बनाइएको गीत, तीनवटा सप्तक बनेको गीतजस्ता विधाका लागि उनले यी कीर्तिमान बनाएका हुन् । त्यस्तै सगरमाथा आरोहण गर्नेहरूको अत्यधिक नामबाट बनाइएको गीत, धेरै पटक मुटु शब्द प्रयोग गरेर बनाइएको गीत, संसारमै सबैभन्दा सानो आकारको गीति पुस्तक (२ बाई २ इन्च), एउटै गीतको स्थायी र अन्तरा धेरै व्यक्तिले एकै पटक पढेको जस्ता विधाका लागि उनले वर्ल्ड रेकर्ड बनाएका छन् ।

मन्त्री यादवले गीति रेकर्डमार्फत नेपाललाई संसारभर चिनाउन उपाध्यायले गरेको प्रयासको प्रशंसा गरे । त्यस्तै गीतकार संघ नेपालका अध्यक्ष चूडामणि गौतमले नेपाली गीत–संगीतमा लाग्नेहरूका लागि यो उत्साहप्रद घटना भएको दाबी गरे । गीतकार उपाध्यायले आफूले कायम गरेको रेकर्ड व्यक्तिको नभएर देशकै भएको प्रतिक्रिया दिए । कार्यक्रममा मन्त्री यादवले उपाध्यायको ‘कर्तव्य बोध’, ‘धरोहर’, ‘सपनाको महल’, ‘हृदयको झंकार’ गरी चार गीतिसंग्रह र संसारकै सानो गीति पुस्तक ‘अनुभूतिको मझेरी’ पनि लोकार्पण गरे । ekantipurबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार