काठमाडौं । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । बिहिबार करिब १ :४५ मा उनको बसुन्धरास्थित न्यूरो अस्पतालमा उहाँको निधन भएको हो । सास फेर्न गाह्रो भएको र छातीमा समस्या देखिएपछि उहाँलाई बिहान अस्पताल पुर्याइएको थियो । अस्पतालमा उपचारको क्रममा उनहाँको निधन भएको उहाँका छोराको साथी सबिन श्रेष्ठले बताउनुभयो ।
सास फेर्न गाहे भएपछि उहाँलाई बिहान अस्पताल लगेका थियौ’ सविनले भन्नुभयो ‘अहिले केही समय अगाडि निधन भएको छ ।’ श्रेष्ठले कोरोना रिपोर्ट समेत नेगेटिभ आएको बताउनुभयो ।
विसं.१९९४ सालमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिनुभएका उहाँको घरमै सांगीतिक माहोल थियो । उहाँको जिजुबाजे नारायणकृष्ण प्रधान र बाजे उत्तरध्वज प्रधानले शास्त्रीय संगीतको गहिरो रुची राख्नुहुन्थ्यो ।
उहाँको घरमा दिनहुँजसो सांगीतिक कार्यक्रमहरू भइरहन्थ्यो । यसैको प्रभावको कारणले उहाँको पनि संगीत प्रति रुची बढेको हो । एक समयका निक्कै चर्चित र स्टाईलिस गायकका रुपमा समेत परिचित प्रधानका ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘गोरेँटो यो गाउँको’, ‘पर लैजाउ फुलहरू’ जस्ता थुप्रै हिट गीत अहिले पनि धेरै सुनिने गरिन्छ । रातोपाटीबाट