उदयपुरमा कोरोना संक्रमणबाट कार्यालय प्रमुखसहित तीन कर्मचारीको मृत्यु

उदयपुर । उदयपुरमा कोरोना संक्रमणबाट कार्यालय प्रमुखसहित तीन जनाको मृत्यु भएको छ। हिजो बेलुका र आज बिहान ३४, ५४ वर्षीय पुरुष र ५० वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो । योसँगै मृतकको संख्या उदयपुरमा सात पुगेको छ।

प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाइका अनुसार कोरोना भाइरसको संक्रमणपछि काठमाडौंको शिक्षण अस्पतालमा उपचारको क्रममा कार्यालय प्रमुखको सोमबार मृत्यु भएको हो। सिरहा निवासी उनी कार्यालयबाटै संक्रमित भएपछि उपचारका लागि काठमाडौं आइपुगेका थिए। त्यसैगरी कोरोनाबाट संक्रमित भएका त्रियुगा नगरपालिका ८ का ५४ वर्षीय पुरुषको विराटनगरस्थित नोवेल अस्पतालमा मृत्यु भएको हो।

ज्वरो र रुघाखोकी लागेपछि उपचारका लागि अस्पताल आएका उनलाई कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि कोभिड वार्डमा भर्ना गरी उपचार सुरु गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए। बैशाख २३ गते अस्पतालमा भर्ना भएका उनको आज बिहान बिहान ५ः१५ मा मृत्यु भएको दाहालले बताए।

त्यसैगरी कोसी अञ्चल अस्पताल कोभिड फोकलपर्सन वैजनाथ साहका अनुसार त्रिनपा ५ की ५० वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको छ। कोरोना पोजेटिभ देखिएकी उनको श्वासप्रश्वासमा समस्या देखिएपछि २६ गते कोभिड अस्पतालमा भर्ना गरिएको साहले बताए।
उनको आज बिहान १ः३० बजे मृत्यु भएको हो । मृतकको शव उदयपुर प्रशासनसँग समन्वय गरी पठाउने तयारी भइरहेको साहले बताए।

प्रजिअ सेडाइले विराटनगरबाट दुबैको शव आएपछि शव व्यवस्थापन टोलीले शवको व्यवस्थापन गर्ने बताए। यसैबीच जिल्लामा कोरोना भाइरसको संक्रमितको संख्या दुई सय ३९ पुगेको छ।

त्यसमध्ये पुरुष एक सय ३५ र महिला एक सय ४ रहेका छन्। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहनप्रसाद सुवेदीका अनुसार सोमबार ३३ जना महिला र २७ जना पुरुषमा कोराना संक्रमण पुष्टि भएको थियो। नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार