बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा गए राती साढे पाँच घण्टाको अवधिमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालमा राती साढे १२ बजेदेखि बिहान ६ बजेसम्मको अवधिमा ६ जनाको मृत्यु भएको हो।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० का ३८ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ। वैशाख ३१ गते पीसीआर परीक्षण गरी कोरोना संक्रमण पुष्टि भएपछि उनलाई जेठ १ गते भर्ना गरिएको थियो। उनको गएराती १२ः३० बजे उपचारकै क्रममा मृत्यु भएको छ।
बर्दिया मधुवन नगरपालिका वडा नम्बर ९ का ७० वर्षीया महिलाको गएराती २ः३० बजे मृत्यु भएको छ। वैशाख ३१ गते गरिएको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएपछि उनलाई जेठ १ गते अस्पताल भर्ना गरिएको थियो।
त्यस्तै सुर्खेत पञ्चपुरी नगरपालिका वडा नम्बर ६ का ५९ वर्षीय पुरुषको आज बिहान ४ः३० बजे मृत्यु भएको छ। बर्दिया बाँसगढी नगरपालिका वडा नम्बर ६ का ८० वर्षीय पुरुषको आज बिहान ५ः३० बजे मृत्यु भएको छ। जेठ १ गते भर्ना भएका उनको २ गते गरिएको पीसीआर परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको थियो।
त्यसैगरी नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ६ का ४० वर्षीया महिलाको आज बिहान ५ः३० बजे मृत्यु भएको छ। वैशाख २७ गते पीसीआर परीक्षण गरी कोरोना संक्रमण पुष्टि भएपश्चात उनलाई वैशाख २८ गते भेरी अस्पतालमा भर्ना गरिएको थियो।
त्यस्तै कोहलपुर नगरपालिका वडा नम्बर ९ का ४५ वर्षीया महिलाको आज बिहान ६ बजे मृत्यु भएको छ। वैशाख २५ गते गरिएको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएपछि उनलाई ३१ गते अस्पताल भर्ना गरिएको थियो।
बाँकेमा दुई ठूला अस्पतालमा पछिल्लो समय बाहिरी जिल्लाका संक्रमितहरुको धेरै मृत्यु भइरहेको छ। योसँगै कोरोनाबाट बाँकेमा २ सय ३९ र बाहिरी जिल्लाबाट उपचार गराउन आएका एक सय ९० जनाको मृत्यु भैसकेको छ। नागरिक खबरबाट