काठमाडौँ । कोरोना संक्रमणका कारण बागमती प्रदेशमा हालसम्म २ हजार २ सय ८७ जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामा मात्र बागमती प्रदेशमा कोरोना संक्रमण कारण २३ जनाको मृत्यु भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मृत्यु हुनेमा ११ जना महिला र १२ जना पुरुष रहेका छन् । संक्रमणका कारण प्रदेशका १३ जिल्लामध्ये काठमाडौंमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको मन्त्रालयको तथ्याङ्क रहेको छ ।
काठमाडौंमा मात्र संक्रमणका कारण ९ जनाले ज्यान गुमाएका छन् भने ललितपुरमा ६ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमणबाट काभ्रेमा ३ जना, रामेछापमा २ जना, मकवानपुर, नुवाकोट र सिन्धुपाल्चोकमा १/१ जनाको मृत्यु भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टाको अवधिमा प्रदेशभर २ हजार ५ सय ७९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । त्यस्तै सोही अवधिमा प्रदेशभर ४ हजार ५ सय २३ जनामा कोरोना संक्रमण निको भएको छ ।
मन्त्रालयका अनुसार, संक्रमण पुष्टि हुनेमा काठमाडौंका १ हजार १ सय ३४ जना, ललितपुरका २ सय ४४ जना, भक्तपुरका १ सय १४ जना, रसुवाका २१ जना, नुवाकोटका २२ जना, धादिङका १ सय १९ जना, चितवनका ९९ जना, सिन्धुलीमा १ सय २९ जना, मकवानपुरका १ सय १ जना, रामेछापका २७ जना, दोलखाका ६९ जना, सिन्धुपाल्चोकका ३ सय ४२ जना र काभ्रेका १ सय ५८ जना रहेका छन् ।
यससँगै बागमती प्रदेशमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ लाख ८० हजार १ सय २९ जना पुगेको छ भने २ लाख २३ हजार ५ सय ४९ जना संक्रमणबाट मुक्त भएका छन् । बागमती प्रदेशमा सक्रिय संक्रमितको संख्या ५४ हजार २ सय ९३ जना रहेको मन्त्रालयले जनाएको छ । रातोपाटीबाट