
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । यादव पक्षबाट ठाकुरसहित चार नेतालाई निष्कासनको निर्णय केही घण्टा अगाडि गरे लगत्तै, ठाकुर पक्षले पनि यादवलाई निष्कासन गर्ने निर्णय गरेको हो ।
उपेन्द्र यादवलाई निष्कासनको निर्णय भएको जसपाका नेता केशबव झाले बताउनुभयो । दुवै पक्षले एकले अर्कोलाई पार्टी निर्णय विपरीत लागेको आरोप लगाएका छन् । यसबीच अध्यक्ष यादवले महन्थ ठाकुरसहित चार नेतालाई निष्कासन गरिएको पत्र निर्वाचन आयोगमा पठाएको हो । अध्यक्ष यादवपक्षीय जसपाको कार्यकारिणी समिति बैठकले आजै पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई कारबाही गरेको हो ।
ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीको साधारण सदस्यसबाट निष्कासनको घोषणा गरेको थियो । सो सम्बन्धी निर्णयको जानकारी तत्कालै यादवले निर्वाचन आयोगलाई गराई दलको दर्ता किताबबाट नाम हटाउन अनुरोध गरिएको छ । जसपा विवाद पनि अब तत्कालीन नेकपाको जस्तै निर्वाचन आयोगमा पुगेको हो । नागरिक खबरबाट