मोरङ । प्रहरीले मोरङको रतुवामाई नगरपालिका–१० बाट ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । ठगी आरोपमा सुन्दरहरैचा घर भएका पुष्पप्रसाद सिग्देल र सुनसरीको इटहरी घर भएका दधिराम चौहानलाई पक्राउ गरिएको जिप्रका मोरङका डिएसपी मानबहादुर राईले बताउनुभयो ।
आफुलाई वन कार्यालयको कर्मचारी र पत्रकार हुँ भनेर उनीहरुले डर देखाएर रतुवामाई–१० मा रहेको माइवेनी काठ मिलमा इन्धन तथा नगद मागेका थिए । ‘बनका कर्मचारी र पत्रकार हौं इन्धनका लागी आवश्यक सहयोग गर्नुपर्छ भनेर ठगेको पाइयो’ जिप्रका मोरङका प्रवक्ता (डिएसपी) मानबहादुर राईले भन्नुभयो – ‘सहयोग नगरे मिल सञ्चालकलाई काम गर्न अप्ठेरो पर्ने भनेर त्रास देखाएको खुलेको छ ।’
उनीहरुले मोरङका अन्य काठ उद्योगमा पनि त्यसरी ठगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । प्रहरीले उनीहरुको साथबाट करिब ३३ हजार नगद र विभिन्न सञ्चार माध्यमको रसिद र परिचयपत्र बरामद गरेको छ । शुक्रवार साँझ पक्राउ परेका सिग्देल र चौहान बिरुद्ध ठगी कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको डिएसपी राईले बताउनुभयो । रातोपाटीबाट