बिना दर्शक खेल गराउनु उदाहरणीय र प्रशंसनीय कार्य : शेर्पा

काठमाडौँ । आहा रारा गोल्डकपको २०औँ संस्करण पोखरास्थित बन्द रंगशालामा बिहीबारबाट सुरु भएको छ । उद्घाटन खेलमा अहिले विभागीय टोली नेपाल एपिएफ फुटबल क्लब र आयोजक सहारा एकेडेमी प्रतिस्पर्धा गरिहेका छन् ।

१० टोली सहभागी प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले बिनादर्शक खेल गराउनु नेपाली फुटबलको लागि उदाहरणीय र प्रशंसनीय कार्य भएको बताउनुभएको छ । ‘पोखरामा बिनादर्शकको खेल गराउँनु उदाहरणीय र प्रशंसनीय कार्य हो,’ अध्यक्ष शेर्पाले भन्नुभयो ।

हाल नेपालमा समेत कोभिड–१९ संक्रमण बढ्दै गएपछि स्थानीय सरकारले स्मार्ट लकडाउन घोषणा गर्नुभएको छ । पोखरामा समेत संक्रमण बढ्दै गए पनि गण्डकी प्रदेश सरकारले प्रतियोगिता बन्द रंगशालामा गराउन निर्देशन दिएको थियो । यस्तै अध्यक्ष शेर्पाले यस प्रतियोगितालाई चाडपर्वको रूपमा लिएको र विदेशमा रहेका नेपाली आएर प्रतियोगिताको रौनक बढाएकोमा धन्यवाद दिनुभयो ।

‘यस फुटबल प्रतियोगितालाई चाडपर्वका रूपमा लिएको छु । अष्ट्रेलिया, हङकङदेखि सपरिवार आएर पर्वका रूपमा हेर्नुभएको छ । धन्यवाद र नमन गर्न चाहन्छु,’ उहाँले भन्नुभयो । जारी सहिद स्मारक ए डिभिजन लिगको नवौँ चरण समाप्त भएसँगै लिग रोकिएको छ । नेपाल राष्ट्रिय टोलीले मौरिसससँग १५ र १८ माघमा दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्ने छ ।

यो सँगै लिगले विश्राम पाएको छ भने मोफसल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता आयोजक टोलीसहित मछिन्द्र फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, संकटा क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, एपिएफ फुटबल क्लब, थ्री स्टार क्लब र भुटनीज सकर क्लबको सहभागिता छ ।उद्घाटन सत्रमा बोल्दै अध्यक्ष कर्माले प्रतियोगितालाई एन्फाको क्यालेन्डरमा ६ महिनाअघि नै तोक्ने र प्रतियोगिता आयोजना गर्न र एकेडेमी सञ्चालनमा एन्फाले प्रत्यक्ष रूपमा सहभागिता जनाउने प्रतिबद्धता जनाउनुभयो ।

‘व्यावसायिक एकेडेमी आयोजना सुरु गर्नुस् । तपाईंहरुको एकेडेमीमा एन्फाको पनि प्रत्यक्ष सहभागिता रहने छ । प्रतियोगिता आयोजना गर्ने मात्रै हैन सफल टिम हुनेमा विश्वास लिन्छु । एन्फाले सहयोग गर्छ । प्रतियोगिता २० वर्ष मात्रै हैन । एक सय वर्ष आयोजना होस् सफल रहोस् कामना,’ उहाँले भन्नुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार