टिपर दुर्घटनामा तीन विद्यार्थीसहित चारको मृत्युपछि नगरपालिकाले दियो शोक बिदा

बैतडी । बैतडीको पाटन नगरपालिकाले आज शोक बिदा दिएको छ। सोमबार अपरान्ह यहाँ भएको टिपर दुर्घटनामा तीन विद्यार्थीसहित चार जनाको मृत्यु भएपछि नगरपालिकाले शोक बिदा दिएको हो।

दुर्घटनामा विद्यार्थीको मृत्यु भएकाले यहाँका शैक्षिक संस्थामा शोक बिदा दिइएको पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो। नगरपालिकाले एक सूचना जारी गर्दै मृतकप्रति गहिरो शोक व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ।

सोमबार अपरान्ह भएको टिपर दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको र एक जनाको उपचारका क्रममा अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो। मृत्यु हुनेमा सिगास मावि गुरुडामा अध्ययनरत पाटन नगरपालिका–३ का १२ वर्षीय ज्ञानु विष्ट, १७ वर्षीय ललित अवस्थी, १४ वर्षीय राजेन्द्र पन्त र पाटन नगरपालिका–३ कै ४५ वर्षीय जनकराज पन्त रहेका छन्।

राजेन्द्रको उपचारका क्रममा डडेल्धुरा अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो भने अन्य तीन जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।सोही दुर्घटनामा परेर अन्य पाँच घाइते भएका छन्। घाइते हुनेहरूमा पाटन नगरपालिका–३ कै २० वर्षीय सन्दीप विष्ट, १२ वर्षीय सुनिल भट्ट, १२ अमित विष्ट, १२ सुदीप पन्त र महेशप्रसाद पन्त रहेका छन्।

उनीहरूमध्ये सन्दीपको अवस्था गम्भीर रहेकाले धनगढी सिफारिस गरिएको छ भने अन्य चार जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।घटनास्थलमा मृत्यु भएका तीन जनाको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ भने राजेन्द्रको शव डडेल्धुरा अस्पतालमा रहेको छ।गुजरबाट पाटनतर्फ आइरहेको बा३ख ४८७९ नंको टिपर सोमबार अपरान्ह भित्री सडकमै पर्ने झाडीमालीमा दुर्घटनामा परेको हो।

विद्यालय छुट्टी भएपछि घर फर्किरहेका विद्यार्थी उक्त टिपरमा चढेर आउन लागेका बेला दुर्घटनामा परेको थियो। दुर्घटनाग्रस्त टिपर सडकबाट ३०० मिटर तल खसेको थियो। दुर्घटनालगत्तै घाइते र मृतकको उद्धार स्थानीय र प्रहरीले गरेका थिए।टिपरका चालक रमेश विष्ट प्रहरीको नियन्त्रणमा रहेका छन्। दुर्घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो। रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार