म्याग्दी । आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले मंगला गाउँपालिका वडा नम्बर ३ बरंजामा उम्मेदवारको टुङ्गो लगाएको छ । सोमबार बसेको वडा कमिटीको बैठकले वडा अध्यक्षको उम्मेदवारमा हालकै वडा अध्यक्ष कबिन्द्र रोकालाई दोहो¥याउने निर्णय गरेको छ ।
बैठकले अध्यक्ष सहित अन्य सदस्यहरुको उम्मेदवार सर्वसम्मत रुपमा चयन गरेको छ । बैठकले खुल्ला सदस्यमा भिम बहादुर रोका, कुल बहादुर थापा, दलित महिला सदस्यमा तेजीमाया बिश्वकर्मा र खुल्ला महिला सदस्यमा मिना फगामी रोकालाई उम्मेदवार चयन गरिएको नेकपा एमाले मंगला गाउँपालिका कमिटीका उपसचिव दर्पण रोकाले जानकारी दिनुभएको छ ।उहाँका अनुसार,वडा नम्बर १ मा एकजित रोका मगर, २ मा वर्तमान वडा अध्यक्ष धनबहादुर खाती ,३ कबिन्द्र रोका मगर,४ लक्ष्मी बुढाथोकी र ५ मा वर्तमान वडा अध्यक्ष भुपेन्द्रबहादुर क्षेत्री सर्वसम्मत उम्मेद्धार चयन हुनुभएको छ ।
अध्यक्षको उम्मेदवार रोका मंगला ३ सातविसे निवासी हुनुहुन्छ । गाउँपालिकाको वर्तमान अध्यक्ष एवम् आसन्न निर्वाचनमा पनि अध्यक्षको उम्मेदवार बन्नुभएका सतप्रसाद रोकाको सहोदर भाई समेत रहेका रोका इमान्दार र कर्तव्यनिष्ठ व्यक्ति हुनुहुन्छ ।
वडा ३ को विकासमा हरदम लागिरहेका रोकाले विगतको पाँच बर्षमा बाँकी रहेका कार्ययोजनाहरुलाई सफलताका साथ सम्पन्न गर्न आफुले पुन अध्यक्षमा उम्मेदवार दिएको बताउनुभएको छ ।
बरंजाको ऐतिहाँसिक महत्व बोकेको चिनाकोट दरवार, झाँक्रिपानी, मालिका मन्दिर, लगायतका धार्मिक तथा ऐतिहाँसिक पर्यटकीय स्थलहरुमा आधारभूत पूर्वाधार निर्माण गरिएकाले त्यसक्षेत्रको विकासमा थप पूर्वाधार निर्माण गर्न तथा वडा नं ३ का जनताहरुलाई सुखि बनाउनका लागि आवश्यक कार्यक्रम तथा योजनाहरु लिएर अगाडि सरेको रोकाले बताउनुभयो ।
जनताको सेवा र गाउँको विकास आफ्नो प्रमुख एजेन्डा रहेको पनि रोकाको भनाई छ । उम्मेदवार चयन भएसंगै चुनावी प्रचारको अभियान लिएर घरदैलो अभियानलाई संचालन गर्न लागिएको रोकाले बताउनुभयो ।
१ मतदान स्थल र ३ मतदान केन्द्र रहेको मंगला ३ मा दुई हजार ६१५ मतदाता रहेका छन । वडा नम्वर ३ मा यसअघिको स्थानीय तहको निर्वाचनमा पनि नेकपा एमालेका उम्मेदवार बिजयी भएका थिए ।