क्यानडासँग नेपाल फराकिलो अन्तरले पराजित

  म्याग्दी न्युज संवाददाता

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग-२ को क्यानडा सिरिजको पहिलो खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ ।क्यानडाको किङ्ग सिटीमा भएको खेलमा नेपाल १ सय ३ रनको फराकिलो अन्तरले पराजित भएको हो । ओडिआई इतिहासमा क्यानडासँग नेपाल पहिलो पटक पराजित भएको हो । यसअघि क्यानडासँग भएको ३ भेटमा नेपालले शतप्रतिशत नतिजा निकालेको थियो ।

क्यानडाले दिएको २ सय ५४ रनको लक्ष्य पछ्याएको नेपालले ४०.१ ओभरमा अल आउट हुनुपुर्व मात्र १ सय ५० रन जोड्न सक्यो ।नेपालका लागि सन्दीप लामिछानेले १६ बलमा १ चौका र २ छक्काको सहयोगमा सर्वाधिक २२ रन, ओपनर आसिफ शेखले ३० बलमा २० रन , अर्का ओपनर कुशल भुर्तेल १ रनमा आउट हुँदा कप्तान रोहित पौडेलले ५ रन बनाउनुभयो । यि चारै खेलाडी क्यानडाका तीव्रगतीका बलर डेलिन हेलिगरको बलमा आउट भएका थिए ।

गुलसन झाले २७ बलमा १५ रन जोड्दै डेलिन हेलिगरको बलमा एलबिडब्लु आउट र नेपालका लागि तेस्रो नम्बरमा ब्याटिङमा आएका भीम सार्की ३० बलमा १८ रन बनाउनुभयो । भीम यसै खेलमा डेब्यु गरेका अखिल कुमारको बलमा एलबिडब्लु आउट हुनुभयो ।

क्यानडाका लागि डेलिन हेलिगरले १० ओभरमा ३१ रन खर्चिएर ५ विकेट लिनुभयो । अन्श पटेल र अखिल कुमारले समान २ तथा साद विन जाफरले १ विकेट लिनुभयो ।त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ५३ रन जोड्न सक्यो । नेपालले डेथ ओभरमा पुनस् एकपटक खराब बलिङ गर्दा मध्य इनिङको दबाबलाई कायम गर्न सकेन । अन्तिम १० ओभरमा नेपालका बलरले १ सय ४ रन खर्चिए ।

क्यानडाका लागि कप्तान निकोलस किर्तनले ४४ बलमा ३ चौका र ६ छक्काको सहयोगमा नटआउट ७३ रनको अर्धशतकीय ईनिङ खेल्नुभयो । नबनित धालीवालले ९० बलमा ४८ रन जोड्नुभयो । अर्धशतक बनाउनबाट २ रन टाढा रहनुभएका धालीवाल गुलसन झाको बलमा कुशल भुर्तेलबाट क्याच आउट हुनुभएको थियो ।

डेलिन हेलिगरले २७ बलमा ३० रन जोड्दै ललितको बलमा आउट हुनुभयो । हर्ष ठाकरले ६१ बलमा २७ रन जोड्दै रन आउटको शिकार हुन पुग्नुभयो। प्रगत सिंह ३५ बलमा १७ रन जोड्दै सन्दीप लामिछानेको बलमा एलबिडब्लु आउट हुनुभयो । सादविन जाफर १३ बलमा १७ रन जोड्दै सोमपाल कामीको बलमा करण केसीबाट समातिनुभयो ।नेपालका लागि ललित राजवंशी र सोमपाल कामीले समान २ तथा सन्दीप लामिछाने, गुलसन झा, रोहित पौडेलले समान १ विकेट लिनुभयो ।

विश्वकप २०२७ को छनोटको रुपमा रहेको लिग टु मा ८ टोलीको सहभागीता रहेको छ । जितसँगै क्यानडा भने ८ खेलमा ५ जित र ४ हारका साथ अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित नेपाल ४ खेलमा १ जित र ४ हारका साथ अंकतालिकाको सातौं स्थानमा छ । नेदरल्यान्ड्स ८ खेलमा १२ अंकका साथ शीर्ष स्थानमा छ । यूएई ३ खेलमा विना अंक पुछारमा छ ।लिग टुमा सहभागी हरेक राष्ट्रले ३६ वटा ओडिआई खेल्नेछन् । अंक तालिकाको शीर्ष चार टोलीले २०२७ को विश्वकपका लागि हुने ग्लोबल छनोटमा स्थानमा बनाउने छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार