प्रथम लायन्स कप छात्रा फुटबल प्रतियोगिताको उपाधि न्यू वेष्ट पोइन्टलाई

  म्याग्दी न्युज संवाददाता

बेनी । लायन्स क्लब अफ बेनी लभ्लीहिलको आयोजनामा खुल्लामञ्चमा सम्पन्न अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबलको उपाधि बेनी न्यू वेष्ट पोइन्ट आवासिय मावि बेनीले जितेको छ । शनिबार दिउँसो खुल्लामञ्च बेनीमा सम्पन्न भएको फाइनलमा निर्धारित समय गोलरहित बराबर भएपछि टाइब्रेकरमा समेत बेनी सामुदायिकलाई ४–५ ले न्यू वेष्ट पोइन्टले प्रथम लायन्सको हात पारेको हो ।


बेनी सामुदायिकका एक खेलाडीको प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो भने न्यू वेष्ट पोइन्टका खेलाडीको सबै प्रहार सफल भयो । प्रतियोगिताको फाइनलमा दुबै पक्षले निर्धारित समयमा केही मौकाहरु पाएपनि सदुपयोग गर्न सकेनन् । प्रतियोगिताको बिजेतालाई प्रमुख अतिथि लायन्स अन्तर्राष्ट्रिय अन्तर्गत डिष्ट्रिक्ट ३२५ आई नेपालको डिष्ट्रिक्ट गभर्नर विनोद ढुंगाना, बेनी नगरपालिकाका मेयर सुरत केसीले बिजेता र उपविजेतालाई क्रमश ३५ हजार,उपविजेता २० हजार रुपैयाँ सहित मेडल,ट्रफी र प्रमाणपत्र र अनु्शासित टिमलाई ५ हजार रुपैयाँनगद प्रदान गरेका थिए। अनु्शासित टिम धौलागिरी मावि सिंगा ट्रफी,५ हजार रुपैयाँ नगद प्रदान गरिएको छ ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी सज्जा पुन, उत्कृष्ट गोलरक्षक विपना बिक,उत्कृष्ट मिडफिल्डर रिया पुन, सर्वाधिक गोलकर्तामा न्यू वेष्ट प्वाइन्टकी सरिता पटेल र निसा तुलाचन तथा बेनी सामुदायिककी मोनिका किसान, उत्कृष्ट डिफेन्डरमा वेष्ट प्वाइन्टकी प्रमिशा बानियाँ, उत्कृष्ट स्ट्राइकर सञ्चिता गुरुङ, उत्कृष्ट प्रशिक्षक वेष्ट प्वाइन्टका दिपेन राई र राइजिङ प्लेयर वेष्ट प्वाइन्टकी समृद्धि घर्तीलाई नगद सहित पुरस्कृत गरिएको छ ।प्रतियोगितामा म्याग्दीका १० विद्यालयको सहभागिता जनाएको लायन्स क्लब अफ बेनी लभ्लीहीलका अध्यक्ष सोहन श्रेष्ठले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार