
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–७,ताकममा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । आइतबार ताकमको हुकलुङमा बाख्रा चराउन जानुभएका ताकमका ६० वर्षीय थमन खत्रीको खनिउको रुखमा चढेर घाँस काट्ने क्रममा लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।बाख्रा घर फर्किएपनि सँगै गएका खत्री नफर्किएपछि खोज्ने क्रममा स्थानीयबासीले साँझ उहाँलाई मृत भेटाएका थिए । रुखमा चढेर घाँस काट्ने क्रममा हावाहुरीले हाँगा भाँचिएर रुखबाट खसेको वडा अध्यक्ष अशोक खत्रीले जानकारी दिनुभयो ।घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान सुरु गरेको प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले बताउनुभयो । म्याग्दीमा आइतबार दिउँसो चलेको हावाहुरीका कारण विद्यालय र स्वास्थ्य संस्थाहरुको भवनमा क्षति पु¥याएको छ । जनजिवन प्रभावित भएको छ ।
स्वास्थ्य चौकी र विद्यालय भवनको छानो उडायो
यसैगरी जिल्लाकाधवलागिरी र रघुगङ्गा गाउँपालिकामा हावाहुरीले तीन वटा स्वास्थ्य चौकी र विद्यालय भवनको छानो उडाएको छ । शनिबार देखि आइतबार साँझसम्म करिब २४ घण्टासम्म म्याग्दी जिल्लाभर निरन्तर रुपमा तिब्र गतिको हावाहुरीले चलेको थियो ।धवलागिरी गाउँपालिका–२,लमसुङमा रहेको लुलाङ स्वास्थ्य चौकी र वडा नं–६ ,बुल स्थित बागेश्वरी आधारभूत विद्यालयको भवनको छानो उडाएको गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले जानकारी दिनुभयो ।
बागेश्वरी आधारभूतको छ कोठे र स्वास्थ्य चौकीको कर्मचारी आवासको दुई तले भवनको जस्तापाटाले छाएको छानो उडाएको हो । मुना स्थित गाउँपालिकाको प्रशासकीय भवनको छानोमा पनि हावाहुरीले क्षति पु¥याएको उपाध्यक्ष पुनले बताउनुभयो ।रघुगङ्गा गाउँपालिका–८, दुवाडीमा रहेको सुन्दरा आधारभूत विद्यालयको पाँच कोठे भवनको छानो पनि हावाहुरीले उडाएको छ । विद्यालयको पठनपाठन र स्वास्थ्य चौकीको सेवा प्रवाह प्रभावित भएको छ ।
सर्वसाधारणको घरको छानो उडाएको र भित्र्याउने बेला भएको गहुँ, जौ र उवा बालीको बोट लडाएर हावाहुरीले क्षति पु¥याएको छ । धवलागिरी गाउँपालिका–७,ताकममा नेत्रलाल सुवेदी, सन्तु महतको घरको छानो उडाएको र हिलापोखरीमा गोरखनाथ पौडेल, लोकनाथ पौडेलको घरमा क्षति पुगेको स्थानीय गोपाल आचार्यले जानकारी दिनुभयो ।ताकम प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक बिक्रम तिवारीले जनप्रतिनिधी र स्थानीयबासी मार्फत हावाहुरीले पु¥याएको क्षतिको विवरण संकलन भइरहेको बताउनुभयो । यसैगरी बेनी नगरपालिका–४, सिंगाको ब्याडमिन्टन कोर्टमा लगाइएको जस्तापाटाको बारलाई पनि हावाहुरीले लडाएको छ ।