
म्याग्दी, २५ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ तितरस्थित बेनी–जोमसोम सडकखण्डमा स्कार्पियो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । सोमबार अपराह्न २.४० बजे मुस्ताङबाट बेनीतर्फ आउँदै गरेको बा १९ च ५६०२ नम्बरको स्कार्पियो ओरालो सडकमा अचानक ब्रेक फेल भई सडक छेउको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय म्याग्दीले जनाएको छ ।
दुर्घटनामा चालकसहित ८ जना सवार रहेकोमा पाँच जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि प्रदेश अस्पताल बेनी ल्याइएको प्रहरी निरक्षक सागर तिमिल्सिनाले जानकारी दिनुभयो ।
घाइते हुनेहरूमा काठमाडौं बानेश्वर निवासी ४१ वर्षीया रन्जु श्रेष्ठ, पोखरा–७ निवासी ४६ वर्षीया बिन्दु बराल, ५० वर्षीय केशवप्रसाद बराल, ५३ वर्षीय देवेन्द्र बराल, ताप्लेजुङ सिरिजंघा गाउँपालिका–२ निवासी ३६ वर्षीय तारा कुँवर रहेका छन् । घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको बताइएको छ।
सवारी दुर्घटनापछि इलाका प्रहरी कार्यालय दानाबाट प्रहरी सहायक निरीक्षक जुद्धबहादुर थापाको कमाण्डमा चार सदस्यीय प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
स्कार्पियो चालक काभ्रेको फुलबारी नगरपालिका–२ घर भई हाल पोखरा–१० अमरसिंहचोक बस्ने ४२ वर्षीय नहकुल प्रसाद पुरासैनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय म्याग्दीले जनाएको छ ।














































