जिल्लाका धार्मिक क्षेत्रहरुको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा सरोकारवालाको जोड

प्रताप बानियाँ / बेनी, मंगलबार बैशाख २४ गते ।हिमाली जिल्ला म्याग्दीमा रहेका धार्मिक पर्यटकीय गन्तव्यका क्षेत्रहरुको पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिइएको छ । जिल्लाको विभिन्न ठाउँहरुमा प्राचीनकालीन सभ्यता, संस्कार र आस्थाका आधारमा अवस्थित ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताइएको हो ।

यसैक्रममा शनिबार म्याग्दी सदरमुकाम बेनीबजारदेखि बेनी नगरपालिका–५ पुलाचौर तथा ९ नम्बर वडा घतानको विभिन्न स्थानमा रहेका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रहरु जगन्नाथ–डढेकोट–ढोलठान राजदरबार–पुलहाश्रम र गलेश्वर मन्दिरको भ्रमणमा निस्किएका सरोकारवालाहरुले यस्तो बताएका हुन् । विभिन्न सामाजिक क्षेत्र तथा संघसंस्थामा आबद्ध व्यक्तित्वहरुले धार्मिक क्षेत्रहरुलाई पर्यटकीय गन्तव्यका रुपमा अगाडि बढाउनुपर्ने बताएका छन् ।

ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको भ्रमणमा सहभागी पशुपति क्षेत्र विकास कोष काठमाडौंका सदस्य घनश्याम कोईरालाले धार्मिक क्षेत्रहरुलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताएका छन् । उनले धार्मिक क्षेत्रको विकास र प्रवद्र्धनका लागि उत्पादनसँग जोडिनुपर्ने बताउँदै धर्मग्रन्थ तथा धार्मिक क्षेत्रहरुको बारेमा सबैलाई जानकारी गराउनुपर्ने बताए । प्राचीन सभ्यता र इतिहासलाई वर्तमानसँग जोडेर सबै क्षेत्रका व्यक्तिहरुलाई धार्मिक क्षेत्रको भ्रमणमा सहभागी बनाउनुपर्ने उनको भनाइ छ ।

बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले नगरपालिकामार्फत नगर क्षेत्रमा भएका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास, प्रचारप्रसार र पवद्र्धनमा जोड दिएको बताइन् । उनले बेनी नगरपालिकामा ऐतिहासिक, धार्मिक र पर्यटकीय गन्तव्यका धेरै क्षेत्रहरु रहेको भन्दै यसको विकासका लागि सरोकारवाला निकाय सबैले ध्यान दिनुपर्नेमा जोड दिएकी छिन् । नगरपालिकाभित्र रहेको पर्यटकीय गन्तव्यका क्षेत्रसम्म पुग्नका लागि सडक निर्माण तथा स्तरोन्नति, पदमार्ग निर्माण एवं पदचिह्न राख्नका लागि आवश्यक पहल गरिने नगर उपप्रमुख बरुवालले बताइन् ।

बेनी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पराजुलीले धार्मिक क्षेत्रहरुलाई धार्मिक पर्यटनको गन्तव्यका रुपमा विकास गर्नुपर्ने आवश्यकता रहेको बताउँदै स्थानीयवासिन्दाले विशेष पहल गर्नुपर्ने बताए । उनले खासगरी धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रहरुको विकास र प्रवद्र्धनका लागि प्रचारप्रसारमा जोड दिनुपर्ने बताएका छन् ।
गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिप्रसाद पौडेलले जिल्लाको भौगोलिक र ऐतिहासिक विकासका लागि सामाजिक तथा पुरातात्विक क्षेत्रको विकास र संरक्षण गरेर अगाडि लैजानुपर्नेमा जोड दिए । महारानी क्षेत्र विकास समितिका अध्यक्ष अमृतदेवी बानियाँले इतिहासको बारेमा उत्खनन् गर्नुपर्ने आवश्यकता औंल्याउँदै सरोकारवाला निकाय र स्थानीयवासिन्दा अग्रसर हुनुपर्ने बताइन् ।

कार्यक्रमको अवसरमा प्रसिद्ध जगन्नाथ मन्दिरको दर्शन तथा डढेकोट दरबार भ्रमण गरिएको थियो । यसैगरी ढोलठानको राजदरबार, पौलस्त्य पुलहाश्रम र गलेश्वर मन्दिरमा पदाधिकारी तथा स्थानीयसँग भेटघाट गरी अन्तत्र्रिmया एवं छलफल गरिएको थियो । कार्यक्रमका सहभागीले पनि धार्मिक क्षेत्रलाई पर्यटकीय गन्तव्यका क्षेत्रमा रुपान्तरण गर्नुपर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार