रघुगंगाको ३१ करोड बढी बजेट पारित, प्रशासनिक खर्च कटौती

साधन राम्जाली / म्याग्दी , शुक्रबार असार २० गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले ३१ करोड ४१ लाख ३१ हजार रुपैयाँ बराबरको बजेट पारित गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा शुक्रबार गाउँसभाले आर्थिक बर्ष २०७६÷ ७७ का लागि सो बजेट पारित गरेको हो । असार ५ गते सुरु भएको गाउँसभामा उपाध्यक्ष कमला तिलिजाले पूजिगततर्फ ११ करोड ५८ लाख ३१ हजार र चालुतर्फ १९ करोड ८३ लाख गरी कुल ३१ करोड ४१ लाख ३१ हजारको बजेट प्रस्तुत गर्नुभएको थियो ।

गाउँसभालाई सम्बोधन गर्नुहँुदै अध्यक्ष भव बहादुर भण्डारीले हरेक जनताको घरदैलोमा पुग्ने गरी नीति तथा कार्यक्रम प्रस्तुत गरिएको बताउनुभयो ।
अध्यक्ष भण्डारीले खानेपानी, कृषि, पर्यटन, जलविद्युत, रोजगार तथा विकासका योजनालाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले विगतमा टुक्रे योजनाले जनताको आवश्यकतालाई समाधान नगरेको भन्दै एक वडा १ गौरवको योजना, ५ लाखभन्दा माथिका योजनाहरूलाई प्राथमिकता,एक घर एक धारा र एक घर एक महिला रोजगार कार्यक्रम लगायत विभिन्न प्रभावकारी कार्यक्रमलाई प्राथमिकता दिएको बताउनुभयो ।

अध्यक्ष भण्डारीले विनियोजन भएको बजेटको सदुपयोग ,प्रभावकारी कार्यान्वयन ,पारदर्शिता र उपलब्धीमुलक बनाएर जनताले सुविधा पाउने तथा विकासको अनुभव गर्ने वातावरण बनाउनका लागि कार्यान्वयनमा सबैको सक्रिय साथ र सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।

गाउँपालिका अध्यक्ष संग सुकुम्बासी कार्यक्रम ,सबै ८ वडाका महिलाहरूको तथ्याङ्क संकलन गरी क्षमता अनुसारको रोजगारी दिने, महिला सशक्तिकरणका साथै उद्मशिलताको विकास गर्न उपाध्यक्षसँग महिला कार्यक्रम समेत सञ्चालन गर्ने जनाएको छ । यूवालाई उत्पादन र सीपमुखी बनाउन गाउँपालिका भित्रका ३ वटा स्थानमा तालिम केन्द्र सञ्चालन, बाँझो खेतमा उत्पादनलाई जोड दिइएको छ ।

गाउँपालिका अध्यक्षसँग यूवा र उपाध्यक्षसँग महिला कार्यक्रम, सामाजिक सुरक्षा भत्ता बाहेक पनि यूवाहरूलाई केन्द्रित गरी रोजगारमुलक योजनाहरू निति तथा कार्यक्रममा समेट्ने प्रयास गरिएको छ । गाउँपालिका भित्रका विभिन्न पर्यटकीयस्थलमा पूर्वाधार तथा हरेक बर्ष गाउँपालिकास्तरीय पर्यटन महोत्सवलाई जोड दिइएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश थापाले प्रशासनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने ,शुशासनमा जोड दिने तथा प्रशासकि खर्चलाई कम गर्ने बताउनुभयो । खर्च नहुने प्रशासनिक प्रकृतिका शिर्षकका खर्चलाई व्यापक कटौती गरीएको बताउनुहुँदै गत आर्थिक बर्ष २०७५÷ ७६ मा भएको खर्चको तुलनामा आर्थिक बर्ष २०७६÷७७ को खर्चमा ९० लाख रुपैयाँ भन्दा बढी खर्च कटौती गरिएको बताउनुभयो ।

विभिन्न खालका कर र गैरकर पहिचान गरी करको दायरा बढाउने र करको दरलाई घटाउने उहाँको भनाई छ । कार्यक्रममा वडा अध्यक्ष तथा कार्यपालिका सदस्यले आफ्नो धारणा राखेका थिए । गाउँसभाको अध्यक्षता अध्यक्ष भण्डारी र सञ्चालन प्रमुख प्रशासकीय अधिकृत थापाले गर्नुभएको थियो । गाउँसभाले कार्यमुल्याङकनको आधारमा गाउँपालिकामा कार्यरत चार जना कर्मचारीहरुलाई सम्मान गरेको छ भने एकता होमस्टेका सञ्चालक मौवाफाँट निवासी मुकुन्द सुवेदीलाई नागरिक सम्मान गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार