हराएको सीमास्तम्भ भेटियो

काठमाडौँ । वर्षौदेखि हराएको भनिएको नेपाल–चीनबीचको ११ नम्बर सीमास्तम्भ फेला परेको छ। हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित ललुङ क्षेत्रमा चीनले नेपाली भूमि अतिक्रमण गरेको विषयमा स्थलगत अनुगमनमा गएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको टोलीले बुधबार ११ नम्बर पिल्लर फेला पारेको हो।

गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङले नाम्खा–६ स्थित टाकुलेमा सीमास्तम्भ फेला परेको जानकारी दिए। ‘चीनले नेपाली भूमि अतिक्रमण गरेको विषयमा स्थलगत अनुगमनमा गएको टोलीले बुधबार टाकुलेमा ११ नम्वर पिल्लर फेला पारेको छ,’ गाउँपालिका अध्यक्ष तामाङले भने, ‘विस्तृत विवरण भने प्रजिअ सदरमुकाम फर्केपछि थाहा होला।’ तामाङका अनुसार सीमा प्रहरी चौकी हिल्साभन्दा करिव पाँच हजार दुई सय मिटर उचाईमा ११ नम्वर पिल्लर फेला परेको हो।हिल्सा प्रहरी चौकीबाट फेला परेको सीमास्तम्भ पुग्न सात घण्टा लागेको टोलीमा सहभागी एक सुरक्षाकर्मीले जानकारी दिए।

हराएको पिल्लर खोज्न नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग सम्मिलित दुई छुट्टाछुट्टै टोली सीमा क्षेत्रमा खटाइएको थियो। टोलीमा गाउँपालिकाका प्रतिनिधि र स्थानीय पनि सहभागी थिए। ‘तीन दिनको प्रयासपछि हिउँले ढाकिएको अवस्थामा पिल्लर फेला परेको हो,’ सीमास्तम्भ खोजीमा खटिएका एक सुरक्षाकर्मीले भने, ‘चीनले नेपाली भूमि अतिक्रमण गरे÷नगरेको विषयमा तथ्य बाहिर आउँछ।’

नेपालीले भोगचलन गर्दै आइरहेको नाम्खा गाउँपालिका–६ स्थित ललुङ क्षेत्रमा चीनले ११ घर निर्माण गरेको विषयमा स्थलगत अनुगमनका लागि प्रजिअ नेतृत्वको टोली लिमी क्षेत्र पुगेको थियो। गाउँपालिका अध्यक्ष तामाङले नेपालले ११ वर्षअघि खनेको सडकभन्दा दुई किलोमिटर भित्र चीनले घर निर्माण गरेको विषयमा स्थलगत अनुगमनमा गए पनि सम्वन्धीत ठाउँसम्म पुग्न नदिइएको बताए। ललुङ क्षेत्र मानासरोवर नजिकै पर्छ। nagariknews.nagariknetwork बाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार