बाबरी मस्जिद तोडफोडको २८ वर्षपछि आडवाणी–मुरली मनोहरसहित ३२ जनालाई सफाइ

काठमाडौं । उत्तर प्रदेशको अयोध्यामा रहेको बाबरी मस्जिद तोडफोड भएको २८ वर्षपछि लखनऊको विशेष अदालतले सोमबार ठूलो फैसला सुनाएको छ । न्यायाधीश एसके यादवले लालकृष्ण आडवाणी, मुरली मनोहर जोशी, उमा भारती समेत ३२ आरोपीलाई सफाइ दिएको छ । यस मुद्दामा कूल ४८ जनामाथि आरोप लगाइएको थियो । यसमध्ये १६ जनाको यसअघि नै निधन भइसकेको छ ।

न्यायाधीशले बाबरी मस्जिद तोडफोडको घटना अचानक भएको बताउँदै यो योजनाबद्ध नभएको बताउँदै तस्विरको आधारमा कसैलाई दोषी ठहर गर्न नमिल्ने बताए ।

लालकृष्ण आडवाणी, मुरली मनोहर, जोशी, उमा भारती, शिवसेनाका पूर्व सांसद सतीश प्रधान, महन्त नृत्य गोपाल दास र पूर्व मुख्यमन्त्री कल्याण सिंह भिडियो कन्फरेन्सको माध्यमबाट सुनुवाइ प्रक्रियामा भाग लिएका थिए । उनीहरु बाहेक २६ जना आरोपी अदालतमा उपस्थित थिए ।

बाबरी मस्जिदको मुद्दामा न्यायाधीश एसके यादवको कार्यकालको अन्तिम फैसला रह्यो । उनी सन् २०१९ को डिसेम्बरमा सेवानिवृत हुने थिए । तर, सर्वोच्च अदालतले फैसला नसुनाएसम्म सन् २०२० को सेप्टेम्बर ३० सम्मका लागि उनको सेवा विस्तार गरेको थियो ।

३२ जना आरोपीमाथि आइपीसीको आधारअन्तरगत सुनुवाइको दौरान आपराधिक षड्यन्त्र, दंगा, विभिन्न समूहबीच दुश्मनी बढाएको र गैरकानुनी सभा गरेको अरोप लगाइएको थियो । सुनुवाइको क्रममा भारतको सेन्ट्रल ब्युरो अफ इन्भेस्टिगेसनले(सीबीआई) ले ३५१ जना साक्षी तथा ६०० वटा दस्तावेज प्रस्तुत गरेको थियो । एजेन्सी/रातोपाटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार