डा. केसीको माग सम्बोधनका लागि अबिलम्ब वार्ता टोली गठन गर्न संघको माग

काठमाडौं । नेपाल चिकित्सक संघले स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा सहज पहुँचका लागि डा. गोविन्द केसीले गरेको १९ औं सत्याग्रहको भावना र मर्मलाई सम्मान गरी अबिलम्ब वार्ता टोली गठन गरेर उनको माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ ।

संघले बुधबार एक विज्ञप्ति जारी गरी डा. केसीको जीवन रक्षा गर्नु नेपाल सरकारको प्रमुख दायित्व भएकाले सार्थक वार्ता गरी उत्पन्न समस्याको यथाशीघ्र समाधान निकाल्न सरकारसँग जोडदार माग गरेको छ । संघका महासचिव डा. बद्री रिजालद्वारा हस्ताक्षरित विज्ञप्तिमा केसीको सत्याग्रहको आज १७ औं दिन भइसक्दा पनि वार्ता टोली गठन गर्न र जीवन रक्षाका लागि सरकारले कुनै पहल नगरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

‘सरकार आफैले डा. केसीसँग १८ औं पटकको सत्याग्रहको दौरानमा गरेका सम्झौता अनुसार उहाँका मागहरु नेपाल सरकारकै अंगको रुपमा स्थापित भई सकेको व्यहोरा सर्वविदितै छ ’, विज्ञप्तिमा भनिएको छ, ‘सरकार स्वयंले स्वामित्व ग्रहण गरिसकेका सम्झौताहरुको अक्षरस कार्यान्वयन गरी सर्व साधारण नागरिकहरुको गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा सहज पहुँचका लागि भनी गरिएको १९ औं शान्तिपूर्ण सत्याग्रहको भावना र मर्मलाई सम्मान गर्दै अबिलम्ब वार्ताटोली गठन गरेर डा.के.सी.को जीवन रक्षा गर्नु नेपाल सरकारकै प्रमुख दायित्व हो । त्यसैले सार्थक वार्ता गरी उत्पन्न समस्याको यथासिघ्र समाधान निकाल्न नेपाल चिकित्सक संघ जोडदार माग गर्दछ ।’

संघले डा.केसीको जीवन रक्षाका निम्ति कठोर कदमहरु चाल्ने परिस्थिति सिर्जना नगर्न चेतावनी दिँदै वार्ताका लागि सहजीकरणको भूमिका निर्वाह तयार रहेको समेत उल्लेख गरिएको छ । जुम्लाबाट १९ औँ सत्याग्रह सुरु गरेका केसीलाई काठमाडौं ल्याइएपछि पनि उनी त्रिवि शिक्षण अस्पतालमा अनसनरत रहेका छन् । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार