पाकिस्तानमा सबै शैक्षिक संस्थाहरु आजदेखि सूचारु

इस्लामावाद, पीटीआई । कोरोना भाइरसको महामारी फैलिएपछि बन्द भएका पाकिस्तानका सबै शैक्षिक संस्था सूचारु हुन थालेका छन् । सरकारी अधिकारीहरुले झण्डै छ महिनापछि बुधबारदेखि सबै शैक्षिक संस्था सञ्चालन गर्न थालिएको जानकारी दिएका छन् ।

पाकिस्तानमा कोरोनाका कारण अहिलेसम्म झण्डै तीन लाख मानिस संक्रमित भएको पनि अधिकारीहरुले जनाएका छन् । सञ्चालन हुन थालेका विद्यालयमा सरकारी तथा निजी दुवै प्रकारका विद्यालय रहेको जनाइएको छ । सञ्चालन गर्न थालिएका विद्यालयमा विद्यालय सञ्चालनका क्रममा स्वास्थ्य सतर्कतासम्बन्धी मापदण्ड पलनामा भने अत्यन्त कडाइ गरिएको छ । त्यसैगरी मापदण्ड पर्याप्त रुपमा पालना भएको वा नभएको बारेमा अनुगमन गर्न विभिन्न संयन्त्र पनि परिचालन गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

केन्द्रीय शिक्षामन्त्री शाफ्क्वात मोहमुदले विद्यालय बन्द हुँदा सबैभन्दा बढी प्राथमिक तहका विद्यार्थी प्रभावित भएको र अहिले खुलेपछि सबैभन्दा धेरै पनि उनीहरु नै आएको बताए । कोरोना भाइरसको महामारीका बारेमा विश्लेषणात्मक अध्ययन गरी सरोकारवालाको सुझावका आधारमा विद्यालय खोल्ने निर्णय गरिएको पनि उनले जानकारी दिए । पाकिस्तानमा अहिलेसम्म कूल तीन लाख १२ हजार २ सय ६३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । तीमध्ये ७ सय ४७ जना पछिल्लो २४ घण्टामा संक्रमित भएको पनि राष्ट्रिय स्वास्थ्य सेवा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार यो अवधिमा थप पाँच जनाको कोरोनाकै कारण मृत्यु भएको छ । योसँगै कूल मृतकको सङ्ख्या छ हजार ४ सय ७९ जना पुगेको छ ।पाकिस्तानमा अहिले पनि कोरोना भाइरसको संक्रमणका कारण ४ सय ६७ जना गम्भीर अवस्थामा रहेका छन् । मन्त्रालयका अनुसार पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये दुई लाख ९६ हजार ८ सय ८१ जना अहिले पूर्णरुपमा संक्रमणमुक्त भइसकेका छन् । सरकारी अधिकारीहरुले पछिल्लो २४ घण्टामा ३२ हजार ३१ जनाको कोरोना परीक्षण गरिएको जानकारी दिएका छन् । पाकिस्तानमा अहिलेसम्म ३५ लाख १४ हजार २ सय ३७ जनाको कोरोना परीक्षण गरिएको छ ।नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार