सडक सञ्जाल जोडिएपछि मुगुमा रैथाने बालीको उत्पादन घट्यो

गमगढी । मुगु जिल्लामा पाइने रैथाने बाली उत्पादनमा विस्तारै कमी हुन थालेको छ । स्थानीय निकायसँग सडक सञ्जाल जोडिएपछि सिधै बजारको चामल गाउँ गाउँ पुग्न थालेपछि रैथाने उत्पादनमा कमी देखिन थालेको हो । मुगुमा सडक सञ्जाल जोडिनु भन्दाअघि चामल पाउने अवस्था थिएन । गाउँ गाउँमा खच्चरले चामल ढुवानी गर्दा महंगो मूल्यमा किन्नु पर्ने स्थानीयलाई बाध्यता थियो । सामान्यतया कर्मचारीले मात्रै चामल किनेर खाने गरेका थिए ।

प्रमुख जिल्ला अधिकारिको सिफारिसबाट पहुँच भएका कृषकले मासिक पाँचदेखि १० किलो चामल खाद्यन्न संस्थाबाट किनेर खाने गरेका थिए । खाद्यन्न संस्थामा पर्याप्त मात्रामा चामल नहुँदा स्थानीयले दसैँ तिहारमा भात खानका लागि काउँनो र चिनो उत्पादन गर्ने गरेका थिए । छायाँनाथ रारा नगरपालिका–१० का काली बहादुर बुढाले जिल्लामा सडक जोडिएसँगै बजारमा चामल पाउन थालेपछि स्थानीय उत्पादन कम हुन थालेको बताए । उनका अनुसार पछिल्लो समय रैथाने बाली लोपोन्मुख हुँदै गएको छ ।

अहिले विजयलक्ष्मी बोहराको नेत्तृत्वमा थार्प गाउँमा जिल्ला कृषि विकास कार्यालयको अनुदानमा रैथाने बाली संरक्षण र प्रवर्द्धन अभियान सञ्चालन भएको छ । दुई सय रोपनीमा आठ सय कुईन्टल काउँनो, चिनो र फापर वाली उत्पादनमा जुटेका छन् । जिल्ला कृषि विकास कार्यालयका निमित्त प्रमुख पंञ्चलाल बुढाले कृषकहरुले औजार उपकरणका लागि प्रस्ताव पेस गरेमा ५० प्रतिशतले अनुदान दिने बताए । कर्णाली प्रदेशले रैथाने बाली संरक्षण र प्रवर्द्धन कार्य विधि २०७६ जारी गरिएता पनि बजारिकरण, व्यवसायिकरण र दिगो विकासमा ध्यान कमै पुगेको देख्न सकिन्छ । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार