एकैदिन भक्तपुरमा कोरोनाबाट थप ४ जनाको मृत्यु

भक्तपुर । जिल्लामा एकैदिन ४ कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी दिपक गिरीका अनुसार कोरोना संक्रमण पुष्टि भई होम आइसोलेसनमा बसेका भक्तपुर नगरपालिका–२ ब्यासीका ९० वर्षीय पुरुषको मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षण गराएका ती पुरुषको सोमबार कोरोना संक्रमण पुष्टि भएको र सोमबार राति नै मृत्यु भएको उनले बताए ।
केएमसी अस्पताल सिनामंगलमा उपचाररत भक्तपुर नगरपालिका–१० कमलविनायककी ४५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । श्वास–प्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी ती महिलामा सोमबार कोरोना संक्रमण पुष्टि भएको र मंगलबार मृत्यु भएको जनाएको छ ।

त्यस्तै, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचारत मिर्गौलापीडित महोत्तरी पिपरा गाउँपालिका–५ का २५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । केन्द्रमा डायलसिस गराइरहेका ती पुरुषको मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

आरोग्य अस्पताल मध्यपुर थिमिमा उपचाररत काठमाडौं स्वयम्भूका ७५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । दमका रोगी ती पुरुषमा आइतबार कोरोना संक्रमण पुष्टि भई अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ । चारै जनाको शव नेपाली सेनाको शव व्यवस्थापन टोलीले व्यवस्थापन गरेको छ ।ekantipur बाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार