धौलागिरि अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

बागलुङ । धौलागिरि अस्पताल बागलुङमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको बागलुङ नगरपालिका—३ का ६६ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मंगलबार बिहान मृत्यु भएको धौलागिरि अस्पतालका मेडिकल सुपरिटेडेन्ट डा. शैलेन्द्र विक पोख्रेलले बताउनुभयो । उहाँका अनुसार स्वाशप्रश्वासमा समस्या देखिएपछि ती ब्यक्ती कात्तिक १२ गते धौलागिरि अस्पतालमा भर्ना भएका थिए ।

‘कात्तिक १२ गते गम्भीर बिरामी भएपछि अस्पताल आउनुभएको थियो, कोभिड टेष्ट गर्दा पोजेटिभ देखियो,’ उहाँले भन्नुभयोे,‘अवस्था गम्भीर भएपछि उही दिनदेखि नै भेन्टिलेटरमा राखेर उपचार गरेका थियौं । मंगलबार बिहान १० बजेर २० मिनेटको समयमा उहाँका मृत्यु भयो ।’

पहिले देखि नै सुगर र थाईराइडको समस्या रहेका ती व्यक्तिमा कोरोना संक्रमणपछि मृर्गौलामा समेत समस्या देखिएको र दुबै मृर्गौलाले काम नगर्ने भएपछि ज्यान गएको अस्पतालले जनाएको छ ।गण्डकी प्रदेशमै पहिलो संक्रमितको उपचार गरेको धौलागिरि अस्पतालमा कोरोना संक्रमणका कारण पहिलो व्यक्तिको मृत्यु भएको हो । कोरोनाबाट मृतक व्यक्तिको नेपाली सेनाले दाह संस्कार गर्ने जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार