काठमाडौँ । धुनषा प्रहरीले ५८ बोतल एसिडसहित नागेन्द्र साहलाई पक्राउ गरेको छ । बियरको बोतलमा भरेर राखिएको अवस्थामा साहलाई जनकपुर उपमहानगरापालिका–४ स्थित किराना पसलबाट पक्राउ गरिएको धनुषाका प्रहरी प्रमुख एसपी रमेशकुमार बस्नेतले बताए ।
एउटा बोतलमा ७ सय ५० एमएलको मात्रामा एसिड भेटिएको हो । एसपी बस्नेतका अनुसार आरोपित साहले विराटनगरका एक व्यापारीबाट एसिड खरिद गरेको खुलेको छ । विराटनगरमा बिक्री गर्नेलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । बरामद गरिएको एसिड करिब साढे ४३ लिटर रहेको प्रहरीले बताएको छ । शनिबार आफ्ना श्रीमती र छोरीमाथि एसिड प्रहार गर्ने सन्जिव साहलाई पक्राउ गरेपछि त्यसको अनुसन्धानमा जुटेका थियौं ,एसपी बस्नेतले भने, त्यही क्रममा सन्जिवले नागेन्द्रबाट एक बोतल एसिड लगेको भेटियो ।
पछिल्लो पटक साउनमा ओखलढुंगाकी पवित्रा कार्कीमाथि एसिड आक्रमण भएको घटनापछि सरकारले यसको खरिद बिक्री, एसिड प्रहारलगायतका घटनामा संलग्नलाई कठोर कानुन सजायसहितको अध्यायदेश नै जारी गरेको छ । नयाँ कानुन अनुसार एसिड प्रहारबाट अंगभंग भएमा २० वर्षसम्म कैद र बिनाअनुमति बिक्रीवितरण गर्नेलाई १० वर्षसम्म कैद सजाय हुनसक्छ ।
नयाँ कानुनअनुसार एसिड आक्रमणबाट पीडित बनेकाको सम्पूर्ण उपचार खर्च र जीवनयापनको ग्यारेन्टी राज्यले लिने कानुनमा उल्लेख छ । नयाँ कानुन आइसकेपछि पहिलोपटक धनुषामा एसिड प्रहारको घटना भएको हो । एसिड आक्रमणकारी र यसको अनुमतिबिना बिक्रीवितरण गर्नेै सन्जिव र नागेन्द्रमाथि नयाँ कानुन अनुसार कारबाही हुनेछ । एसिड अपराधविरुद्ध सक्रिय सामाजिक अभियन्ता उज्जवलविक्रम थापाले नयाँ कानुनअनुसार अपराधीलाई कारबाही गर्न र पीडितको संरक्षणमा सरकार नै रहेकाले उपचारमा आर्थिक अभाव नहुने बताए । ekantipur बाट साभार