
पोखरा, १ असार । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिलामन्त्री जितबहादुर शेरचन ले कुल बजेटमध्ये चालुतर्फ १२ अर्ब ७२ करोड ३७ लाख ७८ हजार रुपैयाँ (३८.५६ प्रतिशत), पुँजीगततर्फ २० अर्ब २ करोड ६१ लाख २२ हजार रुपैयाँ (६०.६८ प्रतिशतं) र वित्तीय व्यवस्थापनतर्फ २५ करोड रुपैयाँ (०.७६ प्रतिशत) विनियोजन गरिएको जानकारी दिनुभयो ।
मन्त्री शेरचनका अनुसार प्रदेश सरकारले आगामी वर्षका लागि चालु खर्च १ प्रतिशतले घटाएको छ । बजेट कार्यान्वयनका लागि आवश्यक स्रोत व्यवस्थापन संघीय सरकारबाट प्राप्त हुने अनुदान तथा राजस्व बाँडफाँटमार्फत गरिनेछ ।
प्रदेश सरकारले वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ८७ करोड ८२ लाख रुपैयाँ, राजस्व बाँडफाँटबाट १० अर्ब १६ करोड ४७ लाख रुपैयाँ, रोयल्टी बाँडफाँटबाट ५१ करोड ४८ लाख रुपैयाँ, सशर्त अनुदानबाट ३ अर्ब ९३ करोड ३ लाख रुपैयाँ, समपूरक अनुदानबाट ५५ करोड ४६ लाख रुपैयाँ तथा विशेष अनुदानबाट ३९ करोड ५४ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।
प्रदेश सरकारले पूर्वाधार विकास, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको जनाएको छ ।














































