अमर बानियाँको ‘सुन्दर म्याग्दी’ पुस्तक सार्वजनिक

  म्याग्दी न्यूज संवाददाता

काठमाडौं । म्याग्दीका फोटो पत्रकार तथा धौलागिरी पर्यटन विकास परिषद्का अध्यक्ष अमर बानियाँद्वारा लिखित ‘सुन्दर म्याग्दी’ पुस्तक सार्वजनिक गरिएको छ । म्याग्दीको प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक सम्पदा, कला, संस्कृति तथा जनजीवनलाई समेटेर तयार पारिएको उक्त पुस्तक बुधबार काठमाडौंमा आयोजित एक समारोहबीच विमोचन गरिएको हो ।

धौलागिरी पर्यटन विकास परिषद् र बेनी समाज काठमाडौंको संयुक्त आयोजनामा नेपाल पर्यटन बोर्डको सभाहलमा सम्पन्न कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले पुस्तक विमोचन गर्नुभएको थियो ।

पुस्तक विमोचन गर्दै वरिष्ठ उपाध्यक्ष वैद्यले म्याग्दीको पर्यटन प्रवर्द्धन र जिल्लाको पहिचान स्थापित गर्न पुस्तकले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा पूर्व मुख्यसचिव तथा अमेरिकाका लागि नेपालका पूर्व राजदूत लोकदर्शन रेग्मी, प्रा.डा. प्रेम शर्मा, नेपाल पर्यटन बोर्डका जनसम्पर्क अधिकृत सुनिल शर्मा, संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य रेशमबहादुर बानियाँ, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष तथा महासंघका केन्द्रीय सदस्य सुबिन श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशित पुस्तकमा म्याग्दी जिल्लाको समग्र परिचय समेटिएको छ । म्याग्दीबारे अध्ययन गर्न चाहने अध्येता, पर्यटक तथा म्याग्देली समुदायका लागि पुस्तक उपयोगी हुने अपेक्षा गरिएको छ ।

सदरमुकाम बेनी बजारमा बसेर विगत चार दशकदेखि फोटोग्राफी तथा फोटो पत्रकारितामा सक्रिय रहँदै आएका लेखक बानियाँले आफूले संकलन गरेका तस्बिरहरूको उपयोग गरी म्याग्दीको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले पुस्तक प्रकाशन गरेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार