
दाङ । दाङको तुलसीपुरमा एक युवतीलाई खुकुरी देखाएर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने युवकलाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–२ भंके निवासी २४ वर्षीय रमेश ठाडा मगर रहेका छन् ।
करिब तीन महिनाअघि रमेशले एक युवतीलाई जंगलमा लगेर खुकुरी देखाई डर–धम्की दिँदै निर्घात कुटपिट गरेका थिए । सोही घटनाको भिडियो उनले मंगलबार साँझ आफ्नो फेसबुक अकाउन्टमार्फत सार्वजनिक गरेका थिए । भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिन थालेपछि इलाका प्रहरी कार्यालय तुलसीपुरले तत्काल अनुसन्धान अघि बढाएको थियो ।
प्रहरी टोलीले मंगलबार राति नै रमेशलाई उनकै घरबाट नियन्त्रणमा लिएको जनाएको छ । पक्राउपछि गरिएको खानतलासीका क्रममा उनीबाट लागूऔषध पाराम्याक्स १ ट्याब्लेट र ट्रोमो ४१ ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ ।
यस घटनामा संलग्न रहेको आशंकामा तुलसीपुर–२ बालापुर निवासी २१ वर्षीय जीवराज खत्रीलाई पनि प्रहरीले पक्राउ गरेको छ । दुवै जनामाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।













































